प्रस, सेढवा, १४ मङ्सिर/

पर्साका ग्रामीण भेगमा सडकखण्डहरूको विकास भएसँगै किसानले परालसमेत बिक्री गर्न पाउँदा खुशी भएका छन् । ग्रामीण भेगमा निर्माणाधीन रहेका हुलाकी सडक, पोखरिया–लङ्गडी–भिस्वा सडकखण्ड, वीरगंज–ठोरी सडकखण्ड, जनता सडक, थरुहट सडकखण्डको निर्माणसँगै किसानले उत्पादन गरेका विभिन्न कृषि उत्पादन देशका विभिन्न भागसम्म पुग्न थालेका छन् ।

विगतमा किसानले धानको पराल, गहँुको छवाली, रबी बालीका भुस त्यत्तिकै जलाएर नष्ट गर्ने गरेका थिए । तर अहिले यी सबै उपज बिक्री हुन थालेका छन् । धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरका किसान रामजन्मप्रसाद कुर्मीका अनुसार व्यापारीहरूले खेतबाट पराल खरीद गरी लैजाने गरेको बताए । विगतमा वस्तुभाव बढी भएकाले तिनीहरूको लागि राख्ने र बढी भएको पराल खेतमैं जलाएर नष्ट गर्ने गरिएको कुर्मीले बताए । तर अहिले सो पराल बिक्री गरेर आम्दानी गर्ने गरेको कुर्मीले बताए ।

यता जगरनाथपुर गाउँपालिका वडा नं ६ का किसान गुलाबप्रसाद यादवले पराल बेचेर खासै धेरै आम्दानी नभए पनि गहुँबालीको लागि खेत जोताइ र रासायनिक मलको खर्च टार्न सकिने बताए ।

व्यापारीहरूले आफ्नै ज्यामी लगाएर पराल ओसार्ने भएकाले बिक्री गर्न सहज भएको यादवले बताए । तर यसरी बिक्री गर्दा दाम राम्रो नआउने यादवको भनाइ छ । हार्भेस्टर मेशिनबाट धान कटानी गर्दा कम पराल निस्कने तर मानिसले कट्दा पराल बढी हुने तथा महँगो मूल्यमा बिक्री हुने यादवले बताए ।

यता जीराभवानी गाउँपालिका वडा नं २ सेढवाका किसान प्रदीप दास थारूले व्यापारीहरूले यस क्षेत्रमा व्यापारीहरूले सर्वसाधारण किसानलाई ठग्ने गरेको आरोप लगाए । शहर बजारमा परालको भाउ महँगो भएपनि व्यापारीहरूले किसानहरूलाई झुक्याउने गरेको थारू बताउँछन् । कतिपय किसानले पराल सस्तो मूल्यमा बिक्री गर्नुभन्दा भण्डारण गर्ने गरेका थारूले बताउँछन्।

यता जीराभवानी गाउँपालिका–२ वसन्तपुरका उपेन्द्र यादवले आफैंले ज्यामी लगाइ पराल खरीद गरी ठोरी क्षेत्रका वस्तुभाउ पालेका किसानलाई बिक्री गर्दै आएको बताए ।

जीतपुर–सिमरा उपमहानगरपालिका वडा नं १० निवासी व्यापारी महेश मण्डलले चितवन, काठमाडौंमा माग भए अनुसार पराल, छवाली तथा रबी बालीको भुस खरीद गरी पु¥याउने गरेको बताए । परालको चाङ हेरेर किसानहरूले मूल्य तोक्ने र सो अनुसार मोलतोल गरी खरीद गर्ने गरेको व्यापारी मण्डलले बताए । यी पराल तथा भुस शहरका गाई तथा भैंसी फार्ममा बिक्री गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here