प्रस, परवानीपुर, १३ मङ्सिर/
वीरगंज महानगरपालिका–२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी मावि सुखचैनाका विद्यार्थीहरूले अङ्ग्रेजी र विज्ञानको विषयगत शिक्षकको माग गर्दै सोमवार बिहान परवानीपुर–पथलैया सडकखण्डमा चक्काजाम र प्रदर्शन गरेका छन्।
प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले १३ राउन्ड अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। लाठीचार्जबाट एक दर्जन विद्यार्थी घाइते भएका छन्।
वीरगंज–पथलैया सडकखण्डको परवानीपुर बजारमा बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म विद्यार्थीहरूले चक्काजाम गर्दै नाराबाजी गरेका थिए।
विद्यार्थीहरूको चक्काजाम हटाउन पर्सा प्रहरीले बल प्रयोग गर्दै १३ राउन्ड अश्रुग्याँस प्रहार गरेको थियो। प्रहरीको लाठीचार्जबाट कक्षा १० का विद्यार्थी लक्ष्मिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुबोध पटेल, राहुल देवानलगायत घाइते भएका छन्। उनीहरूको नजीकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले अश्रुग्याँस प्रहार गरी विद्यार्थीहरूलाई हटाएर जाम खुलाउने प्रयास गरेको बताए।
करीब आठ सय विद्यार्थी रहेको उक्त विद्यालयमा शिशु कक्षादेखि १० कक्षासम्म अध्ययन हुन्छ। विद्यालयमा चारजना शिक्षिका र ११ जना शिक्षक गरी जम्मा १५ जना शिक्षक रहेकामा दैनिक चारजना अनुपस्थित रहँदै आएकाले पठनपाठन प्रभावित हुने गरेको छ। विद्यार्थीहरूका अनुसार शिक्षकशिक्षिकाहरूले दिनभर इन्टरनेट चलाउने र कक्षा कोठामा पठनपाठन गर्न नजाने गरेका कारण सम्पूर्ण विद्यार्थी आक्रोशित भएका हुन्। विद्यार्थीहरूले विद्यालयको प्रयोगशाला तथा कम्प्युटर कक्षमा शिक्षकहरू अध्यापनको लागि नजाने गरेको आरोप लगाए। व्यवस्थित पठनपाठन गराउन विद्यालय, वडा कार्यालय र महानगरले व्यवस्थापन नमिलाएसम्म आन्दोलन नरोकिने विद्यार्थीहरूले बताएका छन्।
प्रधानाध्यापक राजकुमार सिंहका अनुसार विद्यालयमा भएका समस्याका कारण विद्यार्थीहरूले आन्दोलन गरेको बताए। उनले विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए। शिक्षकहरू मनपरी तवरले विद्यालयमा आउनजान थालेपछि समस्या बढ्दै गएको प्रअ सिंहले बताए। विद्यालयका समस्या समाधानका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए।
तीन दिनअघि पनि विद्यार्थीहरूले लिपनीबिर्ता वडामा प्रदर्शन गरेका थिए।