राधेश्याम पटेल, वीरगंज, ११ मङ्सिर/
व्यापारिक घराना आरएमसी समूहको करीब एक अर्ब रुपैयाँ लगानीमा खाद्यान्न उद्योगको निर्माण कार्य धमाधम भइरहेको छ । वीरगंज–पथलैया औद्योगिक कोरिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ८ लोहसान्डा रमौली (इमलीप्रति)मा उक्त उद्योगको निर्माण कार्य हुँदैछ । २०६७ सालमा समूहले किनेको करीब साढे १० बिघा क्षेत्रफलमा उक्त उद्योगको निर्माण कार्य शुरू भएको हो ।
नौ महीनामा परियोजना सकाउने हिसाबले वीरगंजको बालाजी कन्स्ट्रक्शन प्रालिले दुर्ई महीनादेखि उद्योग निर्माणको काम थालेको निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक सञ्जय श्रीवास्तवले जानकारी दिए । उनका अनुसार हाल प्रारम्भिक चरणको काममा हस्क यार्न, ब्रोइलर, पर्खाल तथा टङ्की निर्माणको काम भइरहेको छ । एक महीनापछि मेशिन जडानको काम पनि थाल्ने उनले बताए ।
प्रशोधित खानेतेलको मुख्य उत्पादन गर्ने उद्देश्यले स्थापना भइरहेको उक्त उद्योगबाट पछि चामल, दाल, पिनालगायतका वस्तु पनि उत्पादन गर्ने लक्ष्य रहेको छ । हाल सोयाबिन, सनफ्लावर, पाम तेल प्रशोधन गर्ने प्लान्ट सेटअपको काम भइरहेको प्राविधिकहरूले बताएका छन् । दैनिक ६० देखि सयजना कामदार उक्त उद्योगको निर्माण कार्यमा लागेका छन् ।
राजेश अग्रवाल सञ्चालक रहेको उद्योगको सूर्यमुखी र भटमास गरी दैनिक अढाई सय टन प्रशोधित खानेतेल उत्पादन गर्ने क्षमता रहेको छ भने पामको दैनिक दुई सय टन प्रशोधित तेल उत्पादन गर्ने क्षमतामा उद्योग विस्तार भइरहेको छ । आरएमसीका सञ्चालक अग्रवाल कमर्सियल क्षेत्र हेर्छन् भने निजका भाइ विष्णु अग्रवाल प्राविधिक पक्ष हेर्छन् ।
व्यवस्थापन पक्षका अनुसार हाल तेल प्लान्टको लागि करीब ४० करोड र पछि चामल र दालको प्लान्ट लगाएपछि लगानी करीब एक अर्ब पुग्छ । उद्योगमा करीब ६० भन्दा बढी मानिसले रोजगार पाउने बताइएको छ । आरएमसी समूहको जीतपुरमा राजेश मेटल सञ्चालनमा छ । त्यसैगरी, सिमरामा आरएमसी सिमेन्ट, सुनौलमा क्लिङ्कर उत्पादन गर्ने ग्राइन्डिङ युनिटसहितको पाल्पा सिमेन्ट सञ्चालनमा आएपछि खाद्यान्न उद्योगमा हात हालेको हो । हाल यो समूहले फलामजन्य निर्माण सामग्री र सिमेन्ट उत्पादन गर्दै आएको छ ।
प्रशोधित खानेतेल भारत जान रोकिएपछि उद्योगलाई जोखिम
करीब एक महीनाअघिदेखि भारत सरकारले नेपालबाट हुने प्रशोधित तेल निकासीलाई लगाम लगाउने नीति ल्याएपछि अहिले नेपालका हरेक तेल उद्योगी तनावमा छन् । करीब चार वर्षदेखि विदेशबाट आयात गरेको कच्चा तेललाई प्रशोधन गरी भारत निकासी गर्दै आउँदा स्वदेशी उद्योग मालामाल भएका थिए । नेपालमा करीब २५ वटा उद्योग पूर्णरूपमा सञ्चालनमा आएका छन् । कतिपयले आफ्नो क्षमता दोब्बर पारेका छन् ।
त्यसै कारण यो व्यवसायमा अन्य व्यवसाय गरेका घरानाले पनि हात हाल्न थालेका थिए । तर भारतले आफ्नो व्यवसायीहरूको हितमा भटमास, पाम र सूर्यमुखीलगायत अन्य कच्चा तेल आयातमा भन्सार महसूल अत्यधिक घटाएपछि अब नेपालबाट हुने निकासी प्रभावित भएको छ। एक महीनादेखि वीरगंज नाकाबाट तेल निकासीको ग्राफ घटिरहेको छ । वीरगंजका उद्योगी नारायण रूँगटाका अनुसार भारतको नीतिका कारण प्रशोधित तेलको निकासी ठप्प छ । नयाँ अर्डर बन्द भएको छ, पुरानो माल मात्र गइरहेको उनले बताए ।
पहिले दैनिक सय ट्रक तेल जान्थ्यो भने अहिले ३० देखि ४० गाडी तेल मात्र भारत गइरहेको छ। जुन आगामी एक महीनामा बन्द हुनेछ । त्यसैले जीतपुरमा स्थापना भइरहेको उद्योग भारत निकासी केन्द्रित भएकोले सञ्चालकको पूँजी जोखिममा रहेको वीरगंज क्षेत्रका व्यवसायीहरूको भनाइ छ । तर व्यवस्थापन पक्षले स्वदेशी बजारलाई नै ध्यानमा राखेर उद्योग स्थापना भइरहेको बताए ।