- समीर पाख्रिन
(वृद्धा फर्केर गएपछि स्वयम्सित) यो ममी–बाबा काठमाडौंतिरै बस्ने हुन् कि क्या हो ? महीना दिन भइसक्यो फर्कने नामै लिंदैनन् त ? हजुरआमाले दिएको हजार रुपैयाँ पनि सकियो । अब के गर्ने होला ?
०००
समय ःबिहानी पख ।
स्थान ः घडीअर्वा पोखरी परिसर ।
सुशीला उसका तीन/चार जना महिला साथीहरू र बिहान हिंड्न आउने अन्य महिला र पुरुषहरूको ठूलै चहलपहल छ । सुशीला साथीहरूसँग गफ गर्दै पोखरीको परिक्रमा गरिरहेकी छे ।
सुशीला ः आजदेखि त बूढोलाई पनि चाँडै उठाएर मुर्ली चोकतिर दौडन पठाएको छु । पेट बढेर होला दिनदिनै अल्छे हुँदै गएको छ ।
महिला–१ ः हो, पेट बढेपछि त लोग्नेमान्छेहरू कामै नलाग्ने हुँदा रहेछन् । अलिकता ठाडो उकालो हिंड्यो कि स्वाँ–स्वाँ र फ्वाँ–फ्वाँ गर्न थालिहाल्छन् ।
महिला–२ ः त्यति मात्र हो र । पाइन्ट लगायो कम्मर मुनि झर्छ । पेट उछिटिएकोले कमिजको बटन फुस्किरहने, जुत्ताको लेश फुस्के तापनि बाँध्न नसक्ने, कुनै कुरा खसे पनि तुरुन्त टिप्न नसक्ने र निहुरिएर गर्ने कुनै काम गर्न नसक्ने हुँदोरहेछ ।
सबै गलल हाँस्छन् ।
महिला–२ ः ल किन हाँसेका यिनीहरू ? यसमा हाँस्नुपर्ने कुरा के छ र ?
महिला–३ ः त्यही त । हाम्रो विवेकको बुबाको पनि सबै पाइन्ट टाइट भएर अहिले त इलास्टिक राखेर पाइजामा पो सिलाइदिएकी छु ।
सुशीला ः त्यही भएर मैले आजदेखि उठाएर मुर्ली चोकतिर लखेटिदिएको छु ।
महिला–२ ः किन उतातिर पठाएकी ? आफैंसँंग लिएर आएको भए भइहाल्थ्यो नि ।
सुशीला ः अप्पुई ! बूढालाई सँगै लिएर आउनु ? यसै त ठिटाहरू आन्टी–आन्टी भनेर जिस्क्याउँछन् । त्यहीमाथि हवल्दार बूढोलाई लिएर हिंडे भने त भोलिदेखि हजुरआमा भनेर बोलाउन बेर छैन । ल अब जाने होइन ? जाऔं, जाऔं ।
सबैजना हाँस्दै पोखरी परिसरबाट बाहिरिन्छन् ।
०००
समय ः बिहान । स्थान ः उषाको कोठा ।
उषा कोठामा म्युजिक बजाएर व्यायाम गर्दैछे । यत्तिकैमा प्रीतमको कल आउँछ । उषाले फोन उठाउँछे ।
उषा ः उफ ! फेरि कसको कल आयो ? हेलो, ए प्रीतमजी ? सन्चै छु । तपाईं ? म अहिले कोठामा नै छु । तपाईं नि त ? के वीरगंज आउँदै हुनुहुन्छ अरे ? खै, क्याम्पस जानुपर्छ । कोशिश गर्छु । कहाँ ? घण्टाघरमा ? हेरौं । हस् हस् । (फोन राखेपछि स्वयम्सित) आज भने पेटभरि चिकेन मोमो खानुपर्ला, त्यही हेटौंडामा खाएपछि खान पाइएको छैन ।
घरबेटी बज्यै ः (फेरि साउन्ड अन गरेर नाच्न थाले कि हुन्छे यत्तिकैमा घरबेटी बज्यै ढोकाबाट भित्रतिर चियाउँदै) एई चोथाली, के गरेकी हँ ? मलाई पूजा गर्न अबेर भइसक्यो तेरो बाजा बन्द गर्छेस् कि गर्दैनस् भन् त ?
उषा ः (बाजा बन्द गर्दै) न त आँगनमा डोरी खेल्न दिन्छे, न म्युजिक बजाएर एरोबिक गर्न दिन्छे । यो बूढीले त मलाई दुब्ल्याउनै नदिने भो बा ।
०००
समय ः मध्याह्न । स्थान ः जिल्ला ट्राफिक कार्यालय परिसर ।
इमानसिंह हवल्दार हातमा खामबन्दी पत्र बोकेर समकक्षीसँग सरुवाबारे दुःखेसो गर्दैछ ।
इमानसिंह ः त्यही त थापाजी । रिटायर्ड हुन अब कति नै वर्ष थियो र । त्यतिञ्जेल वीरगंजै बस्न पाए हुन्थ्यो भनेको सरुवाको पत्र आएछ ।
थापाजी ः तपाईं हामीले भनेर हुन्छ र इमान सिंहज्यू । विभागले जहाँ जा भन्छ, त्यहाँ त पुग्नैपर्छ । हेर्नाेस्, म पूर्व ताप्लेजुड्ढो चीसो ठाउँबाट भतभती पोल्ने पर्सा जिल्लामा आइपुगें । अनि अब रिटायर्ड हुन कति वर्ष बाँकी छ ?
इमान सिंह ः कति हुनु ? तीन वर्ष त हो नि ।
थापाजी ः के भो त ? असईमा बढुवा भइहाल्नुभएछ । असईको पेन्शन खान पाइहाल्नुहुन्छ नि। अवकाशपछि के गर्ने विचार छ ?
इमान सिंह ः अवकाशपछि घरतिर गइन्छ थापाजी । घर फर्केर तरकारीखेतीसँगै बङ्गुरपालन व्यवसाय शुरू गर्ने विचार गरेको छु ।
थापाजी ः घर विजयबस्ती भन्नुभएको होइन ?
क्रमशः