अहिले मुलुकमा दुईवटा प्रमुख पार्टीहरूको पार्टीगत निर्वाचनले नेता–कार्यकर्ता सबैलाई भ्याइ नभ्याइ छ । यो एक किसिमले राम्रो अवसर पनि हो, किनभने अब तीनै तहको निर्वाचन पनि हुने समय आइसकेको छ । राजनीतिलाई नै सबैथोक मान्ने मानसिकता भएको हाम्रो मुलुकमा राजनीतिक गतिविधिजस्तो मेला अरू हुँदैन । हो, देशको प्रमुख राजनीतिक पार्टी नेकपा एमालेको राष्ट्रिय महाधिवेशन हुनै लागेको छ भने पुरानो र ऐतिहासिक नेपाली काङ्ग्रेसको पनि निर्वाचन निकट आइपुगेको छ । यद्यपि यस निर्वाचनले व्यक्तिको अहम् बढाउनेबाहेक, राजनीतिलाई यथास्थितिमा राख्नेबाहेक अरू विकल्प दिन सक्ने देखिएको छैन । नेपालमा हुने कुनै पनि निर्वाचनको नियति यही हो । जो जहाँ छ, त्यहीं रहन चाहन्छ, उसलाई त्यहीं राख्ने प्रयत्न पनि हुन्छ । आफ्नो पार्टीमा हाल बहाल अध्यक्ष केपीशर्मा ओलीकै वर्चस्व रहने देखिएको छ । अर्थात् देखले कनिया, देखले वर । नेपाली काङ्ग्रेसको अहिले जिल्ला अधिवेशनहरू हुँदैछ । त्यसको परिणाम आएपछि वा निर्वाचन समीकरण सन्तुलित रह्यो भने नेतृत्व परिवर्तनको आस गर्न सकिन्छ ।
देश अहिले यिनै रमितामा लागेको छ । त्यसैले देशका अन्य जल्दाबल्दा समस्याप्रति खासै ध्यान पुग्न सकेको छैन । सर्वोच्च न्यायालयमा जन्मेको विवादको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । त्यसले नेपालको न्याय क्षेत्र निरीह बन्दै गएको देखिएको छ भने चरम निरङ्कुशकालमा पनि नेपालीको आस्था र भरोसाको केन्द्र रहेको न्याय क्ष्Fेत्र अहिले कार्यविहीनताको बन्दी बनेको छ । लामो विवादले विकृतिमात्र जन्माउँछ । यस मुद्दाले बारलाई नै विभाजित पार्न थालेको छ । कहिलेकाहीं न्याय धर्मराउन खोज्दा सम्बल दिने बार पनि कमजोर बन्ने हो भने देशमा मत्स्यन्यायमात्र बहाल हुन्छ । यसै पनि बितेका दिनमा न्यायालयको गतिमति हेरेर अति दूरदर्शीहरूले अब आन्दोलन भयो भने न्यायालयकै कारणले हुन्छ भन्ने आकलन गरिसकेका छन् । रह्यो न्याय खोज्नेको कुरा, त्यो जनता हो । नेपालमा जनता जहिले पनि थिचिएरै बस्यो । राणातन्त्र होस्, राजतन्त्र होस् वा प्रजातन्त्रकाल वा अहिले गणतन्त्रकालस जनता जहिले पनि हुँदाखाँदा, बलिया–बाङ्गा, ठूला–बडा, पदासीन, नेताहरूकै कृपापात्र बनिरह्यो । भन्नका लागि जतिसुकै सार्वभौम भनिए पनि जनता चाहिं दोस्रो श्रेणीकै नागरिक दरियो । यस्तोमा सबैको ध्यान विवादित प्रधानन्यायाधीश, अन्य न्यायाधीशहरू, आन्दोलनकारी वकिलहरूकै सेरोफेरोमा रुमलिइरह्यो । न्याय नपाएर, फैसला आउन नसकेर कसले कति हण्डर खाइरहेको छ, कसले कति क्षति बेहोरिरहेको छ, यी शक्तिसम्पन्नहरूको चासोमा पर्ने कुरा पनि भएन ।
नेताले अवसरलाई पर्खंदैन । अवसर आउला र काम गरूँला भन्दैन । उसले काम गरेर अवसरलाई आफ्नो बनाउँछ । अवसरको निर्माण गर्छ । तर हाम्रा नेताहरू को कमजोर हुन्छ र च्याखे थाप्न पाइन्छ भनेर ढुकुवा बस्छन् । त्यसैले उमेरले नेटो काटिसक्दा, शारीरिक शक्ति क्ष्Fीण भइसक्दा पनि पदप्रति ¥याल चुहाइरहन्छन् । यो नेतामा हुने प्रवृत्ति होइन । तर हाम्रो दुर्भाग्य छ, हाम्रा नेताहरूको चरित्र र स्वभाव त्यस्तै छ । यिनीहरू भीडलाई आफ्नो पछि लगाउँदैनन्, लगाउने सामथ्र्य पनि हुँदैन । भीडको पछि लाग्छन् । भीडको कुनै धर्म, दायित्व हुँदैन भनेर जान्दैजान्दा पनि । दुईवटा पार्टी अहिले त्यस्तै नेता छान्ने प्रक्रियामा छन् ।