प्रस, पोखरिया, ८ मङ्सिर/

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टी जस्ता पार्टीहरू बहुरूपी पार्टी भएको आरोप लगाएका छन् ।

पोखरियामा बुधवार आयोजित आमसभामा बोल्दै अध्यक्ष डा राउतले मधेसमा नेपाली काङ्ग्रेस, एमाले र माओवादीको पकड कमजोर भएपछि तिनै पार्टीबाट चोइटिएकाहरूबाट शोषण, दमन गराउन लोसपा, जसपा जन्मेको आरोप लगाए । उनले लोसपा र जसपालाई मधेसका बहुरूपी पार्टीको संज्ञा पनि दिए । यी पार्टीहरू बहुरूपी हुन्, यिनीहरूको विगत उही नेका, एमाले र माओवादी पार्टी हो र नाटकीय ढङ्गबाट मधेसमा शोषणका लागि जन्माइएको मात्र हो भनी आरोप लगाए ।

उनले अहिले मधेसीहरूको अधिकार केही प्राप्त भएको तर सम्पूर्ण अधिकार प्राप्तिका लागि जनमत पार्टी अघि बढिरहेको बताए । डा राउतले २ नं प्रदेशमा मधेसी जनतामाथि शोषण जारी रहेको बताए । मुख्यमन्त्री आफैं भ्रष्टाचारीहरूको नाइके भएको र उनले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममार्फत साइकलमा भ्रष्टाचार गरेको र विकासको नाममा २० प्रतिशत मात्र काम गरेर बजेट बाँडीचुँडी खाएको आरोप पनि लगाए ।

मुख्यमन्त्री मधेसका छोरीप्रति सजग र सचेत भएको भए उनको शासनकालमा बर्सेनि सयौं छोरी बलात्कारको शिकार हुँदा पनि एकजना बलात्कारीमाथि पनि कारबाई किन नगरेको भनी प्रश्न गरे । केन्द्र सरकार मधेसप्रति बफादार छैन तर प्रदेश सरकार गठन भएको चार वर्षमा पनि किन यहाँका युवाहरू रोजगारका लागि भारतलगायत विदेश जानुपरिरहेको छ, उनको जिकिर थियो ।

डा राउतले मधेसमा खुलेका र खुलिरहेका उद्योगहरूमा यहाँका युवा जनशक्तिलाई भर्ना नगर्नु अनि भारत र पहाडबाट कामदार, कर्मचारीहरू बोलाएर रोजगार दिने कार्यलाई प्रदेश सरकारले रोक्न नसकेको आरोप लगाए । उनले यहाँका उद्योग, कलकारखानामा यहींका युवा जनशक्तिलाई प्राथमिकतामा राखेर रोजगार दिलाउने विषयमा प्रदेश सरकार स्वार्थवश चुकेको दोषारोपण पनि लगाए ।

जनमत पार्टी पर्साका अध्यक्ष डा चन्दन चौहानको अध्यक्षतामा भएको आमसभामा उपाध्यक्षहरू अब्दुल खाँ, अनीता रौनियार, शब्बो खातुन, नगमा खातुन, इन्जिनीयर वसन्त कुशवाहा, युवा अध्यक्ष राजुराज गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण जिल्ला सचिव विनय यादवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here