प्रस, वीरगंज, ६ मङ्सिर/

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, धर्मशालाहरूमा वैवाहिक कार्यक्रम हुँदा सिर्जित सवारीजामसम्बन्धी विषयमा सोमवार सरोकारवालाहरूले छलफल गरी निर्णय गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा सातवटा निर्णय गरेको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए । आज भएको छलफलमा विवाह, व्रतबन्धलगायतका कार्यक्रममा अश्लील गीत, सङ्गीतको प्रयोग नगर्ने, राति १० बजेपछि आर्केस्ट्राको प्रयोगमाथि रोक लगाउने, कार्यक्रम आयोजना स्थलमा सम्बन्धित धर्मशाला, होटल, पार्टी प्यालेसले सुरक्षागार्डको व्यवस्था गर्ने र पार्किड्ढो व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ।

यसैगरी, कार्यक्रम स्थलमा सिसिटिभी चुस्तदुरुस्त राख्ने, घण्टाघर क्षेत्रमा विपी पार्क र माईस्थान, आदर्शनगर, अलखियामठ, छपकैया, बिर्ता क्षेत्रले बिर्ता बजार, इदगाह र खाली ठाउँमा पार्किङ गर्नुपर्ने, कार्यक्रममा प्रयोग हुने सवारीसाधनहरूले पनि ‘वन वे’को पूर्ण पालना गर्नुपर्ने निर्णय भएको छ ।

छलफलमा सहायक प्रजिअ भीमकान्त पौडेल, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षक सुमन कार्की, राजेशराज पुरी, छपकैया सामुदायिक केन्द्रका अध्यक्ष ग्यासुद्दीन मियाँ ठकुराई, व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्की, गोपाल मण्डली, मारवाडी सेवक सङ्घ, कलवार कल्याणकारी समिति, जैन धर्मशालाका क्रमशः सञ्जयकुमार माडु, सुरेश बगेडिया, नन्दकिशोर गुप्ता, राजकुमार बैद, सुनील ममोठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here