अहिले साँच्चीकै कोरोनाको त्रास सबैको मनबाट हराएको छ, यद्यपि कोरोना हराएको छैन । प्रत्येक देशमा, प्रतिदिन मानिस सङ्क्रमित भइरहेका छन्, अस्पताल भर्ना भइरहेका छन्, ज्यान पनि गुमाइरहेका छन् । एकताका नेपालमा बन्द नभएको हप्ता भन्दा आश्चर्य लाग्थ्यो । त्यसैगरी अब मानिस मर्नु समाचार बन्दैन, नमर्नु समाचार बन्ने समय आएको छ । बितेको शनिवार बङ्गलादेशमा कोरोनाको कारण कसैको मृत्यु भएन, यो अन्तर्राष्ट्रिय समाचार बन्न पुग्यो । कालचक्रको कुरा हो, एक वर्ष पहिले पनि कोरोनाको त्रास हराएको थियो, तर लगत्तै पहिलेभन्दा जक्खड कोरोना भेरिएन्टले सबैको सातोपुत्लो लियो । अहिले पनि बेला–बेला थप मारक भेरिएन्ट पलाउने स्वास्थ्यविद्हरूले अनुमान लगाउँदै छन् । हुनत कोभिडविरुद्ध खोपले त्रास हटाउन ठूलो सहयोग पु¥याएको हो । तर खोपले निश्चित समयसम्म मात्र काम गर्छ । ६ महीना वा वर्ष दिनपछि यसको प्रभाव समाप्त हुन्छ । कोरोना त्यही ताकमा बसेको हुन सक्छ । यसर्थ नागरिकस्तरमा जसरी स्वास्थ्य मापदण्ड परित्याग गरिएको छैन, सरकारले सम्भावित जोखिमको आकलन गरेर यस बेला सक्रिय हुनुपर्छ, बियाँलो उचित होइन ।

सरकारले गर्ने काममध्ये क्वारेन्टाइन, अक्सिजन, औषधि, खोप र कोरोना अस्पतालको विकल्पलाई थाती राख्नुहुँदैन । विकसित मुलुकहरूले अहिलेदेखि नै बुस्टर डोज लगाउन शुरू गरिसकेका छन् । यो डोज भनेको हामीले जुन मात्रामा खोप लियौं, त्यसभन्दा बढी र प्रभावकारी खोप हो । अहिलेसम्म देशले सामान्य खोप नै सबैलाई लगाउन नसकेको अवस्थामा बुस्टर डोजको उपलब्धता परको कुरा हो । नागरिकस्तरमा स्वास्थ्य मापदण्डको पालना जारी रहने हो भने प्रतिकूल अवस्था आइ नै लाग्यो भने पनि त्यसले जनधनको त्यति सा¥हो क्षति नगर्ला । तर सरकार तयारी अवस्थामा रहनुपर्छ । सरकारले निर्माण गर्ने भनेको होल्डिङ सेन्टर सबभन्दा प्रभावकारी अवरोध साबित हुनेछ, कोरोना प्रसारणविरुद्ध । सरकारले होल्डिङ सेन्टर बनाउन शुरू पनि गरेको छ, तर नेपालमा त सरकारको काम कहिले जाला घाम भन्ने उक्ति परम्परादेखि आजसम्म अपरिवर्तित छ । ज्यान जाला समयमा कुनै काम हुँदैन । खाँचो परेको चीज त बनाउन दशकौं लाग्छ, होल्डिङ सेन्टरको त अहिले कुनै खाँचो देखिएको छैन । होल्डिङ सेन्टर कोरोनाविरुद्ध लडाइँको पहिलो आवश्यकता हो । बितेको कोरोना चरणहरूमा हामीले जानेको यथार्थ के हो भने कोरोनाको नेपालमा उत्पत्ति भएको होइन । यो नेपाल आउने व्यक्तिहरूबाट सङ्क्रमण सरेर फैलिएको हो । यसर्थ बाहिरबाट आउनेहरूलाई होल्डिङ सेन्टर (क्वारेन्टिन) मा राखेर उचित परीक्षणपछि नेपाल प्रवेश दिने हो भने, यो सानो सतर्कताले मात्रै हामीलाई यसको उपचार, रोकथामको तमाम कार्यविधि गर्नैपर्दैन ।

समयमा चेतेर प्रतिरोधको काम गर्नु बुद्धिमानी हो । समय घर्केपछि आगलागी भइरहँदा कुवाँ खन्ने हतारोको उपमा बन्न जान्छ । होल्डिङ सेन्टरको निर्माणका लागि कार्ययोजना बनाउने, बजेट पास गर्ने झन्झट पनि छैन । निर्माण कार्य नै प्रारम्भ भइसकेको छ । त्यसको समयमा सम्पन्नता आजको कार्यभार हो । त्यति मात्रले भोलि जस्तोसुकै भयावह भेरिएन्टलाई निस्तेज बनाउन सकिन्छ । कोरोनाले यो पहिलो किला छिचोलिहाल्यो भने पनि हामीसँग यति जनशक्ति छ कि त्यससँग जुध्न सकिन्छ । मूल कुरा हो काममा बियाँलो नहोस्, समयमा होल्डिङ सेन्टर बनोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here