प्रस, निजगढ, २९ कात्तिक/

मुलुकमा परिवर्तन आएको, जनताको सरकार बनेको र जनताप्रति उत्तरदायी रहेको जस्ता जतिसुकै भाषण छाटेपनि बारा, निजगढ नगरपालिका–६ सडकटोलका ६८ वर्षीय दानबहादुर तिमल्सिनाको जीवनमा यसले खासै प्रभाव पारेको छैन ।

गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, औषधोपचार, रोजगार, सुशासन, शान्ति, सुरक्षा जस्ता आधारभूत कुरा पूरा हुनु नै जनताप्रति उत्तरदायी हुने सामान्य कुराहरू हुन् । यिनै अपाङ्ग दानबहादुरले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कैयौंपटक मतदान गरे ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक जनताको पक्षमा सरकार परिवर्तन गर्न उनी पनि अरू सरह सडकमा कैंयौपटक देखिए । तर आज उनी पूर्ण अशक्त हुँदा र दैनिक जीवन गुजरा मात्र होइन, औषधि खान नपाएर दिनरात छटपटाइरहेका छन् ।

तर राजनीतिक दल, आफूहरूलाई राजनीतिकर्मी, समाजसेवी भन्नेहरूको उचित ध्यान उनको दैनिकीलाई नियाल्न अझै पनि भ्याइरहेको भेटिएन । सिंहदरबारको सम्पूर्ण अधिकार स्थानीय तह अर्थात् स्थानीय सरकार भने पनि कुनै आम्दानीको स्रोत नभएका उनै दानबहादुरले जग्गा बेचेर घामपानी छल्न, हुरीबतासमा ओत लाग्न जस्तापातासहितको चार कोठे पक्की घर बनाउन थाले पनि अझै पूरा हुन सकेको छैन ।

१० धुर जग्गा बेचेर आठ धुर जग्गा किनेको जमीनमा निजगढ नगरपालिका–६ वडा कार्यालयले घर बनाउन चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको वडाध्यक्ष कुशबहादुर थापाले बताए । जस्ताको छाना छाउन रकम नपुगेपछि नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लीलादेवी लामिछाने, प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निर्माणाधीन घरमा आई थप रु एक लाख आर्थिक सहयोग गरेको वडाध्यक्ष थापाले बताए । नगरपालिकाले दिएको सो रकम भने पर्याप्त होइन । लगभग १२/१३ लाखमा घर सम्पन्न हुने भएपनि बाँकी नपुग रकम भने, जग्गा बेचेर रहेको करीब आठ लाख रकम यसै घर बनाउन खर्च गरिएको अपाङ्ग दानबहादुरले बताए । ओत लाग्न घर त बन्यो । अब बिहान–बेलुकी छाक टार्न उनलाई मुश्किल छ । घरछिमेकीको दया, मायाले कैयौंपटक उनको चुलो बलेको छ ।

२०४२ सालमा माछा मार्ने क्रममा विष्फोटक पदार्थ हत्केलामा पड्केर उनको दाहिने हातको पञ्जा गुमेको थियो । सद्दे शरीर अपाङ्ग भएको पीडा जो कसैको जीवनमा पनि नमीठो स्मरण पक्कै रहिरहन्छ । दाहिने हातको हत्केला गुमे पनि अर्को देब्रे हातको सहारामा गाउँघरमा ज्याला बोहोनी, मजदूर गर्दै आइरहेका वृद्ध दानबहादुरको जीवनमा अर्को कहिल्यै भुल्न नसक्ने गरी पूर्ण अशक्त हुने गरी बज्रपात भयो । गाउँकै एक तोरी पेल्ने मिलमा काम गर्दै जीवन गुजारा गरिरहेका उनको हात चार वर्षअघि मिलको फित्तामा बेरिन पुग्यो । हात त पूरै काम नलाग्ने गरी गुमाउनुप¥यो भने, शरीरको ढाड, पिठ्यूँमा पनि गहिरो चोट लाग्यो । त्यस बखतको उनको एकतर्फको आठवटा करङ भाँच्चिएको उनकी ५० वर्षीया पत्नी कृष्णमाया तिमल्सिनाले बताइन् ।

एउटा हातको हत्केला गुमे पनि खेतबारीमा कोदालो चलाउन, बन्चरोले दाउरा चिर्न सद्दे मानिस सरह काम गर्दै आइरहेकोमा अर्को हात पनि गुमेर पूर्ण अशक्त भएपछि उनको दैनिकी जीवन निकै कष्टकर हुँदै आएको विष्णु श्रेष्ठले बताए ।

“शरीरको भित्री भागको घाउ अझै निको भएको छैन । पाँच/सात दिनअघि शरीर सा¥है दुख्यो । तेलले मालिस गरिदेउ भनेर भन्नुभयो । मालिस गर्दा एउटा करङ भाँच्चिएर शरीरभित्र झ¥यो,” कृष्णमायाले गहँभरि आँसु पार्दै भनिन्, “२०४३ सालमा उनीसँग माया प्रेम बसेर आउँदा दाहिने हातको हत्केला थिएन । चार वर्षयतादेखि उनको दुवै हात गुम्यो । कहिले दिनभरि, कहिले रातभरि दुखेर रुनुहुन्छ । उहाँको दुखाइ बाँडेर लिन मिल्ने भए आधा बाँडेर लिन्थें । मिल्दैन रहेछ। उहाँलाई सास्ती, मेरो कर्म यस्तै रहेछ ।” भगवान्ले पनि हामी गरीबलाई नै सारा संसारको दुःख, कष्ट थुपारिदिएको उनी गुनासो गर्छिन् । “हे भगवान १ अझै दुःख दिनुहोस् । म सहन्छु । तर मेरा पतिको पीडा हरण गरिदिनुस,” गला अवरुद्ध गर्दै कृष्णमायाले थपिन् ।

उनको निर्माण गरिएको घर पूर्णरूपमा सम्पन्न भइसकेको छैन । शौचालयसम्म जाने बाटो बनाउन नसक्दा अपाङ्ग दानबहादुर कैयौंपटक लडेको र आफूले सकिनसकी बल्लतल्ल उठाएको पत्नी कृष्णमायाले सुनाइन् । महीनामा ७/८ हजारसम्मको औषधिमा खर्च हुने गरे पनि पैसा नहुँदा औषधिसमेत उनले खान पाएका छैनन् ।

पूर्ण अशक्त भत्ताबापत महीनाको तीन हजार रकम सरकारबाट उपलब्ध हुन्छ । त्यो रकम जाडो महीनामा छोटो ओढ्ने ओढे जस्तै उनलाई भएको छ । उनीहरूको कमाइ गरिखाने न त खेतबारी नै छ, न त ज्याला, मजदूरी गर्न सक्ने शारीरिक स्थिति नै । यस्तै आर्थिक समस्याले छोराछोरीलाई पढाउन नसकेको दानबहादुरले दुःख मान्दै भने । जेठो छोरा छुट्टिएर बसेका छन् । कान्छा छोरा काम गर्न जान्छ । उसैको भरथेगमा जेनतेन चुलो बल्दै आएको आमा कृष्णमायाले भनिन् ।

“स्थानीय सरकारले औषधि खान पुग्ने रकम उपलब्ध गराए अलि वर्ष बाँच्थें होला । औषधि किन्न पैसा पुग्दैन । कति उधारो माग्नु । धन्न दिएका छन् । भत्ता आउने बित्तिकै ऋण तिर्नुपर्छ,” आँसु पुछ्दै दानबहादुरले मलिलो स्वरमा भने ।

पूर्ण अशक्त नागरिकका लागि प्रदेश र सङ्घीय सरकारले जे जति सुविधा उपलब्ध गराए पनि पर्याप्त छैन । यसतर्फ स्थानीय सरकारले यस्ता नागरिकहरूको सहज बाँच्न पाउने, स्वास्थ्य उपचार गर्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here