इस्लामाबाद, २७ कात्तिक/एएनआई

अफगानिस्तानमा गठन भएको तालिबान सरकारले बालिकालाई पनि फेरि विद्यालय जाने वातावरण बनाइसकिएको दाबी गरेको छ । अन्तरिम तालिबान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले ७५ प्रतिशत छात्रा विद्यालय फर्किसकेको दाबी गरेका छन् ।

तालिबान सरकारले छात्रालाई विद्यालय जान नदिएको भन्दै आलोचना भइरहेका बेला उनले सरकारले छात्रालाई विद्यालय जान दिएको स्पष्ट पारेको जनाइएको छ । तत्कालीन तालिबान विद्रोही समूहले गत अगस्तमा सत्ता कब्जा गरेपछि केही समय बालिकालाई विद्यालय जान नदिएको कुरा भने तालिबान नेताले पनि स्वीकार गरेका थिए ।

महिलाले रोजगार गर्न नहुने, सार्वजनिक ठाउँमा जाँदा कम्तीमा एकजना पारिवारिक पुरुष सदस्यसँग जानुपर्ने, विद्यालयमा पनि छुट्टै कोठामा बस्नुपर्नेलगायतका नियम लगाइएको छ ।
तालिबान नेताको यो नीतिको विश्वभरिबाट आलोचना र विरोध भएपछि अहिले उनीहरू लचक भएको देखिएको छ ।

तालिबान सरकारले अघिल्लो कार्यकालमा पनि महिलाको स्वतन्त्रता कुपिण्ठत गरेको भन्दै धेरै देशले पहिलेदेखि नै तालिबान सरकारप्रति आशङ्का गर्दै आएका छन् । अन्य देशले आशङ्का र असहयोग गरिरहेपछि त्यसलाई न्यूनीकरण गर्न भन्दै पाकिस्तानमा विभिन्न देशका कूटनीतिज्ञ र अफगानिस्तानका विदेशमन्त्रीबीचको बैठक भएको छ ।

त्यही बैठकका लागि अफगान विदेशमन्त्री पाकिस्तान आएका हुन् । अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रूपमा उनी पाकिस्तान आएका हुन् । पाकिस्तान भ्रमणका क्रममा उनले अफगानिस्तानका लागि अमेरिकाका विशेष दूत थोमस वेस्टसँग पनि भेटवार्ता गरेका छन् ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेशमन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधवार बेलुका इस्लामाबाद पुगेको हो । पाकिस्तानमा गत बिहीवार अमेरिका, चीन, रूस र पाकिस्तानका कूटनीतिज्ञसँगै उनको बैठक भएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको थियो ।

तालिबान सरकारप्रति आशङ्का व्यक्त गर्दै असहयोगको नीति लिएको अमेरिका र तालिबान सरकारप्रति निकै सकारात्मक, सहयोगी हँुदै आएका चीन, रूस र पाकिस्तानका प्रतिनिधि बैठकमा सहभागी थिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here