नयाँ दिल्ली, २७ कात्तिक/एएनआई

भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।
केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको मात्रा न्यूनीकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिवार सुझाव दिएको हो ।

भारतका प्रधानन्यायाधीश एनभी रमण, न्यायाधीश डिवाई चन्द्रचुड र सूर्यकान्तको इजलासले दिएको सुझावको अहिले निकै चर्चा भएको छ । “हावाको गुणस्तर मापक सूचकाङ्कलाई ५०० बाट कम्तीमा २०० मा झार्नुपर्नेछ, त्यसको लागि एउटा राम्रो उपाय दुई दिने लकडाउन हुन सक्छ,” सुझावमा उल्लेख गरिएको छ ।

मानिसको स्वास्थ्यका लागि लकडाउन आवश्यक भएकाले त्यसतर्फ सोच्न सकिन्छ भन्ने प्रश्न पनि न्यायाधीशले गरेका छन् । लकडाउनलाई अदालतले तत्कालीन उपायको रूपमा मात्रै लिन आग्रह गर्दै दीर्घकालीनरूपमा समस्याको समाधान गर्ने उपाय भने अरू नै अपनाउनुपर्ने उल्लेख गरेको छ ।

अदालतले अति प्रदूषण भएकाले अहिले बालबालिकालाई घरबाहिर निस्कन दिनु वा विद्यालय आवतजावत गराउन पनि पुनर्विचार गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको छ । चिकित्सकले वायु प्रदूषणले बालबालिकाको स्वास्थ्यमा गम्भीर र दीर्घकालीन असर पर्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

विज्ञ तथा सरोकारवालाले प्रदूषणबाट बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका थिए । वायु प्रदूषणको असर बालबालिकाहरूमा अहिलेभन्दा पछि बढी देखिने सर गङ्गाराम अस्पतालका डा धिरेन गुप्ताको भनाइ छ ।

“बालबालिकामा प्रदूषणको असर अहिले के देखिएको छ र ? त्योभन्दा बढी असर त पछि देखिन्छ, त्यसैले यो धेरै गम्भीर र दुरगामी समस्या हो,” उनले भने । बालबालिकामा यसले पार्ने असरका बारेमा चिन्ता, चासो र गाम्भीर्यता अधिकांशमा नदेखिनु अर्को चिन्ताको विषय भएको उनको टिप्पणी छ ।

विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने उनले बताए । साथै आँखा पिरो हुने र घाँटी चिलाउने असर तत्काल नै देखिएको र त्यस्ता बिरामीको सङ्ख्या अत्यधिक रहेको उनले जानकारी दिए । नयाँ दिल्लीमा दीपावलीमा पटाकाका कारण अघिल्लो शुक्रवारदेखि वायु प्रदूषण फेरि खतरनाकपूर्ण अवस्थामा पुगेको छ ।

यसपटकको प्रयोगमा प्रतिबन्ध लगाइए पनि शहरभरि मानिसले तिहारका बेलामा राति अबेरसम्म पटाका पट्काएका कारण आकाश नै धुम्म परेको अधिकारीको भनाइ छ । सवारीसाधन, औद्योगिक उत्सर्जन, धूलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि भारतको नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा चिनिंदै आएको छ ।

हिउँदमा छिमेकी राज्यमा जलाइएका परालका धूवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ । सरकारी वायु गुणस्तर मापन अधिकारीले त्यहाँको प्रदूषण कणको ३५ प्रतिशत जलाइएका परालका कारण भएको र त्यो बढ्दै जाने अनुमान गरेका छन् ।

दिल्ली मात्रै नभई भारतका अरू पनि धेरै शहर अति प्रदूषित शहरमा पर्दछन् । संसारमा सबैभन्दा धेरै प्रदूषित ३० शहरमध्ये २२ वटा शहर भारतमैं रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसको मृत्यु हुने विभिन्न तथ्याङ्कले देखाएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here