दण्ड भनेको मानिसलाई जुनसुकै पनि नियमकानून अपहेलना गर्दा दिनुपर्छ। दण्डको सरोकार प्रकृतिसँग घनिष्टतमरूपले जोडिएको हुन्छ। मानिस चीसो हावामा निस्क्यो भने रुघाखोकी लाग्छ। घाममा निस्क्यो भने लू लाग्छ वा पोल्छ, पसिना आउँछ। वर्षात्मा निस्क्यो भने भिज्छ। कसैले पनि प्रकृतिसँग घरबाट निस्कँदा मौसम सफा थियो, त्यसैले न्यायो लुगा लगाइनँ, छाता बोकिनँ मलाई माफी देऊ भन्दैन। मानिस मात्र होइन, मानिसको बच्चालाई पनि थाहा छ, यस्तो लापरवाहीको दण्ड पाइन्छ नै। त्यसैले प्रकृतिले आफ्नो सम्पूर्ण संरचनामा तादाम्य मिलाएर राख्न सकेको छ। प्रकृति प्रतिकूल जाँदा दण्ड पाइन्छ, सबैले मनसा–वाचा स्वीकार गरेको कुरा हो। तर मानिस निर्मित कानूनले चाहिं दण्डको प्रावधान राखे पनि परिपालना हुँदैन। मानिस यदि सामान्य नागरिक हो भने उसले दण्ड पाउँछ, कुनै किसिमले विशिष्ट नभए पनि, ठूला–बडाको ओत लागेको छ भने उसलाई माफी दिन सबै तत्पर हुन्छन्। साना नेताको सिफारिशमा प्रहरी प्रशासनले बदमाशी गर्नेको त के कुरा, बलात्कारीलाई समेत माफी दिन्छ। त्यसैले मानिसले बनाएको कानूनको पालना हुँदैन।

त्यसमा पनि सरकारी कर्मचारी छ भने उसले गरेको कुनै पनि गलतीको दण्ड आजसम्म पाएको देखिएको छैन। हो, भ्रष्टाचारका लागि केही कर्मचारी समातिएका होलान् त्यो भिन्दै कुरा हो। यहाँ प्रसङ्ग हो, ती कर्मचारी जसले आफ्नो कर्तव्यको निर्वहन गर्दैनन्। सरकारको कुनै पनि कार्यालय किन नहोस्, त्यहाँबाट कुनै गलती भएको छ भने त्यसको दण्ड पनि नागरिकले नै सहनुपर्छ। सरकारको एउटा अदना कर्मचारीले जग्गा नामसारी गर्दा गलती गर्दछ वा जानीजानी लोभानीपापानीमा परेर कसैको हक मार्दछ भने कहिले पनि दण्डको भागीदार बन्दैन। कुनै काम वर्षौं झुलाएर राख्छ, गरिदिंदैन, उसलाई दण्डको भय हुँदैन। बारा जिल्लामा निजगढ नगरपालिकाको लालका बासिन्दा, कसैको पनि लालपूर्जा नियमबमोजिम छैन। नियमबमोजिम नगरिदिने कर्मचारीलाई यसबापत कहिले दण्ड–सजाय हुनेछैन, बरु लालपूर्जाधारीले नै पछि कुनै ठूलो दण्ड पाउन बेर छैन। वीरगंज मालपोत र भूमिसुधारमा झन्डै चार वर्ष भयो, हाकिम छैन। कोही आउँछ भने पनि दुई दिनमा सरुवा गराएर जान्छ। चार वर्षदेखि धाइरहेको जनता जतिसुकै बिलखबन्दमा परोस्, त्यसका लागि दण्ड कसैले पाउँदैन। किनकि दण्ड दिने सरकार हो, कर्मचारी उसैको मानिस हो।

यसको अन्तिम परिणति भनेको देश लथालिङ्ग हुनु हो। आज नेपालमा भइरहेको पनि त्यही छ। दण्ड भनेको कसैको मानहानि होइन, कसैमाथि अत्याचार होइन। यो स्वाभाविक प्रक्रिया हो, समाजलाई सभ्य बनाइराख्ने। आज समाज असभ्य बनेको छ, किनकि यहाँ कसैलाई दण्डको भय छैन। देश विकासको मार्गमा प्रतिगामी बन्दै गएको छ, किनकि यहाँ देशलाई विकासको पथमा नलग्दा कसैले दण्ड पाउँदैन। लाचार र विवश व्यक्ति बारम्बार सरकार प्रमुख भइरहन्छ। उसले केही गर्दैन, किनकि उसलाई दण्डको भय छैन। वास्तवमा समाज त यस्तो हुनुपर्छ कि गलती गर्ने कसैलाई पनि त्वरित दण्ड देओस्। अनि दण्डको भयले कसैले गलती गर्दैन। दण्डलाई न्यानो लुगा नलगाउँदा रुघाखोकी हुने, छाता नओढ्दा पसिना आउने र पानीमा रुझ्नेजस्तो स्वीकार गर्ने हो भने दण्ड विधान सर्वस्वीकार्य बन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here