जङ्गल आसपासका बस्तीमा जङ्गली जनावरले वितण्डा मचाएको छ । प्रभावित क्षेत्रका किसानले लगाएको बाली खाएर नष्ट गरिदिने र अवरोध हुँदा कतिपय हिंस्रक जनावरले मानिसको ज्यान नै लिने गरेका छन् । जङ्गलको प्रकृति अनुसार जनावरको प्रभाव पनि फरक किसिमको हुन्छ । जहाँ राष्ट्रिय निकुञ्जको घना जङ्गल छ, सो क्षेत्र आसपासका बस्तीमा जङ्गली जनावरको प्रभाव बढी छ । जहाँ निकुञ्ज, आरक्षबाहेकका राष्ट्रिय जङ्गल वा पातलो जङ्गल छ, सो आसपासका क्षेत्रमा जङ्गली जनावरको प्रभाव कम छ । यसले के प्रमाणित गर्छ भने बस्ने बास नपाएर जङ्गली जनावर गाउँ पसेका हैनन् । निकुञ्ज र आरक्ष जङ्गली जनावरका लागि सुरक्षित बासस्थान हो । त्यहाँको जङ्गलभित्र अन्यत्रको भन्दा मानव क्रियाकलापसमेत कम हुन्छ । मानवको गतिविधि नियन्त्रणका लागि निकुञ्ज प्रशासन र सेना परिचालन गरिएका छन् । त्यसैगरी निकुञ्ज, आरक्ष प्रभावित क्षेत्रलाई बफर जोन (मध्यवर्ती क्षेत्र) तोकेर वन तथा वन्यजन्तु संरक्षणमा स्थानीय बासिन्दालाई परिचालन गरिएको छ, तर त्यही क्षेत्रमा जनावरले धेरै दुःख दिइरहेका छन् ।
जनावर होस् या मानिस जहाँ सहजरूपमा खानेकुरा पाउँछ, त्यतै जाने हो । जङ्गलमा चाहेको समयमा कन्दमूल पाइँदैन । यता बस्तीतिर किसानको खेतमा बा¥है महीना कुनै न कुनै फसल फलिरहेकै हुन्छ । किसानले लगाएको खेतको बाली जनावरको लागि सहज छ । दिनभर सुस्तायो, रात पर्न थालेपछि नजीकको बालीतर्फ लाग्यो । उनीहरू बास नभएर होइन कि, जङ्गलमा सहजरूपले खानेकुरा उपलब्ध नहुँदा किसानको बालीतर्फ लागेका हुन् । जङ्गल आसपासका बस्तीमा जङ्गली जनावर सधैं एकनासले पस्दैनन् । हात्तीदेखि बँदेलसम्मका जङ्गली जनावर निश्चित महीना गरेर मात्रै बस्तीमा आउने गर्छन् । जङ्गलमा कन्दमूल नभएको महीनामा जनावर बस्ती प्रवेश गर्छन् । बस्ती प्रवेश गर्न हात्ती, बँदेल, चित्तल, मृग, नीलगाई सबैको आआफ्नै निर्धारित महीना हुन्छ । बस्ती प्रवेश गर्नुपर्ने महीना आएपछि उनीहरू आआफ्नो बास, बस्ती आसपासका जङ्गल क्षेत्रमा केन्द्रित हुन्छन् ।
टाउको दुखेको बिरामीलाई खुट्टामा औषधि लगाउने सरकार र संरक्षणविद्हरूको प्रवृत्ति छ । जङ्गली जनावरलाई जङ्गलमा नै रोक्नका लागि उसको आहार पर्याप्त मात्रामा जङ्गलमा उपलब्ध हुनुपर्छ । हात्तीले केरा, कटहर, बाँस, नरियललगायतका आहार मन पराउँछ । त्यसैगरी, जङ्गली भालुले खन्यु, डुमरी, जामुनलगायतका फल रुचाउँछ भने ढेंढु, बाँदरले टाँटरी, अमरा रुचाउँछन् । त्यसैगरी, चित्तल, नीलगाईलगायतका जनावरले हर्रा, बर्रा, टाँटरीलगायतका फलमा ज्यान दिन्छन् । यस्तो फलहरू जङ्गलमा सधैं हुने हो भने जनावर बस्तीमा प्रवेश गर्दैनन् । हामीसँग निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्र प्रशस्त छन् । बा¥है महीना फल लाग्ने उन्नत जातका वनस्पति अनुसन्धान गरी लगाउनेतर्फ सरकारले सोचेको छैन । वातावरण एवं जङ्गलको प्रकृति अनुसार जङ्गली फलको बिरुवा तथा घाँस रोप्नेतर्फ यहाँ खोज भएको छैन । हालै बाँदर नियन्त्रणका लागि केही जङ्गल क्षेत्रमा अन्नबाली लगाउन थालिएको छ तर अन्नबाली टिकाउ उपाय होइन । जङ्गलमा अन्न बोटमा फल लाग्नै पाउँदैन । एकपटक बोट रोपेपछि त्यही बोटले फल दिइरहने किसिमको फल प्रशस्त मात्रामा जङ्गलमा लगाउनुपर्छ । यसले जङ्गली जनावर पूर्णरूपमा नियन्त्रण नभए पनि न्यूनीकरण निश्चित छ ।