• श्रीमन्नारायण

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ७१औं जन्मदिन भारतमा भव्यतापूर्वक मनाइयो । भारतका विपक्षी राजनीतिक दलहरूले यसको चर्को आलोचना गरे पनि नरेन्द्र मोदीको इमानदारी, कठिन परिश्रम, सतत् जनसंवाद र देश एवं जनताका लागि अहोरात्र खटिरहने उनको क्षमतामाथि औंला ठड्याउने मौका कसैलाई पनि प्राप्त हुन सकेको छैन । बा¥ह वर्षसम्म भारतको गुजरात प्रान्तका मुख्यमन्त्रीको रूपमा र विगत साढे सात वर्षदेखि भारतको प्रधानमन्त्रीका रूपमा उनले गरेको दायित्व निर्वाह सामान्य उपलब्धि होइन ।

महाभूकम्पमा क्षतविक्षत हुन गएको गुजरातलाई भारतको सबैभन्दा विकसित राज्यको रूपमा रूपान्तरित गर्न मुख्यमन्त्रीको नाताले नरेन्द्र मोदीले गरेको कामलाई अतुलनीय नै मानिन्छ । विगत साढे सात वर्षदेखि उनी भारतका प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गरिरहेका छन् तर एकपछि अर्को साहसिलो र ऐतिहासिक निर्णयहरूले उनको सरकारलाई भारतको राजनीतिक इतिहासमा छुट्टै पहिचान दिलाउने निश्चित छ ।

नरेन्द्र मोदी एक साधारण परिवारबाट आएका हुन् । राजनीतिमा न त उनको घरपरिवारको कुनै इतिहास छ, न त कोही उनका ‘गडफादर’ नै छन् । उनले जे जति सफलता, उपलब्धि र उचाइ हासिल गरेका छन्, ती सबै उनको स्वयम्को स्वप्न, संवाद, साहस र ठोस अडानका कारण सम्भव भएको छ । जब उनले आफ्नो पारिवारिक परिचय दिंदा बाल्यकालमा रेलवे स्टेशनमा आफूले चिया बेचेको अभिव्यक्ति दिन्छन्, अनि त्यसमा हीनताबोध नभई गौरवको अनुभूति हुन्छ। उनको यस आत्मगौरवबाट भारत र दक्षिण एसिया मात्रै होइन विश्वभरिकै चियापसलेहरू आफूलाई गौरवान्वित महसूस गर्दछन् । अब सामान्य र निम्न पूँजीका पसलेहरू पनि बडो गर्व एवं उत्साहपूर्वक आफ्नो पेशा र व्यापारको चर्चा गर्दछन् । यो एउटा यस्तो उपलब्धि हो, जसको मूल्य आँक्न नै सकिंदैन ।

भारतको राजनीतिमा देशका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरू, उनकी सुपुत्री इन्दिरा गाँधी र नाति राजीव गाँधीले सहजरूपमा बहुमतको सरकार चलाउने अवसर प्राप्त गरे । अर्थशास्त्री डा मनमोहन सिंहले पनि दुई कार्यकाल सफलतापूर्वक बिताए । तर उनले स्वतन्त्ररूपमा सरकारको नेतृत्व गर्न सकेनन् भन्ने आरोप लाग्दै आएको छ । परिस्थितिजन्य कारणले लालबहादुर शास्त्री तथा पिभी नरसिंह रावले पनि देशको सफल नेतृत्व गरे ।

सरकारविरोधी आन्दोलनको बलमा मोरारजी देसाईं एवं बिपी सिंह तथा काङ्ग्रेसको सहयोग र समर्थनबाट चौधरी चरण सिंह, चन्द्रशेखर, एचडी देवगौडा र इन्द्रकुमार गुजरालले संयुक्त सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरे तर पनि पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । अटलबिहारी बाजपेयी वरिष्ठताका कारण प्रधानमन्त्री बन्न सफल भए । एक्लो नरेन्द्र मोदी मात्रै यस्ता नेता भए, जो आफ्नो प्रभाव, क्षमता र परिश्रमको बलमा प्रधानमन्त्री बन्न सकेका छन् ।

नेपोलियन बोनापार्ट सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिका बेला तोपखानाका एक साधारण अधिकारी थिए । न त उनको अग्लो एवं आकर्षक शारीरिक बनोट थियो, न त प्रसिद्ध पारिवारिक इतिहास नै तर देशको बदलिंदो राजनीतिक घटनाक्रमप्रतिको उनको सूक्ष्म दृष्टि अवश्य पनि थियो। त्यति बेला उनले फ्रान्सको सम्राट बन्ने सपना देखेका थिए र सोही अनुसार आफ्ना पाइलाहरू पनि चाल्न थाले र सपना देखेको १५ वर्षमैं उनी फ्रान्सका राजा बने ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकतान्त्रिक तरीकाले निर्वाचित प्रधानमन्त्री भएका हुन् तर विगत दुई दशक लामो राजनीतिक घटनाक्रमलाई उनले पनि नियालिरहेका थिए । पार्टी सङ्गठनको कामकाजदेखि लिएर पार्टीभित्र र बाहिरका राजनीतिक दाउपेचलाई पनि अध्ययन गरिरहेका थिए । समय र समीकरण फेरिंदै गएको कुराबाट उनी अवगत थिए र आफूले देखेको सपनालाई साकार पार्ने उपयुक्त अवसर हेर्ने बित्तिकै उनले समयको सदुपयोग गरे ।

विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारतमा करीब तीन दशकपश्चात् बहुमतको प्रधानमन्त्री बन्ने एकमात्र सौभाग्यशाली नेता नरेन्द्र मोदी साबित भए । सन् २०१४ मा पहिलोपटक भारतका प्रधानमन्त्री बनेका उनी आफ्नो पाँच वर्षको पहिलो कार्यकाल पूरा गरी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएको पनि करीब साढे दुई वर्ष बितिसकेको छ तर उनको लोकप्रियतामा भने कमी आएको छैन । देशभित्र मात्रै होइन, देशबाहिर पनि उनी त्यति नै लोकप्रिय छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अमेरिकी भूतपूर्व राष्ट्रपति फ्रेङ्कलिन दिलोनो रुजवेल्ट जस्तै जनतासित सोझो र सतत् संवाद कायम गरेका छन् । अल इन्डिया रेडियोलाई माध्यम बनाएर मन की बात (मनका कुरा)मा उनले समसामयिक राजनीति, सामाजिक एवं आर्थिक विषयबारे खुलेरै कुरा गर्दछन् तथा जनतासित सोझो संवाद कायम राख्ने गर्दछन् ।

आफू प्रधानमन्त्री भएको करीब ९० महीनामा उनले ८० भन्दा बढी पटक यस्ता संवाद कार्यक्रमको प्रसारण गरेर जनताको मुटुमा बास गर्न सफल भएका छन् । आफ्नो संसदीय निर्वाचन क्षेत्रमा पनि तीसभन्दा बढी पटक भ्रमण गर्न सफल भएका छन् । आफ्नो गृह निर्वाचन क्षेत्र नभए पनि धार्मिक नगरी वाराणसीलाई आफ्नो निर्वाचन क्षेत्र रोजेर उनले यस शहरको कायाकल्प गरिदिएका छन् । निकट भविष्यमैं वाराणसी भारतको प्रमुख शहरहरूमध्ये एकै हुन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिंदैन ।

नरेन्द्र मोदी भारतीय जनता पार्टीका नेता पनि हुन् । यो पार्टी राष्ट्रिय स्वयंसेवक सङ्घको एउटा अङ्ग हो । राष्ट्रिय स्वयंसेवक सङ्घले सांस्कृतिक राष्ट्रवादको सिद्धान्तलाई आत्मसात् गरेको छ । पूर्वीय सभ्यता, आर्य सभ्यता अथवा हिन्दू सभ्यता, संस्कृतिको संरक्षण र संवद्र्धनका निम्ति समर्पित यो संस्था सैंकडौं वर्षसम्म भारतमाथि विदेशी मुगल र अङ्ग्रेज शासकहरूको आक्रमणबाट भएको अकल्पनीय धनजनको क्षति र धर्म–संस्कृतिमाथि भएको प्रहारको आलोचना गर्दै सनातन धर्म संस्कृतिको रक्षाप्रति समर्पित देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस संस्थाको कार्यकर्ता भएर दशकौंसम्म आफ्नो जिम्मेवारी निर्वाह गरेका छन् ।

भारतीय जनता पार्टी नेतृत्वको सरकार अस्तित्वमा आएपछि र नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि अवश्य पनि सङ्घको मान्यता अनुसार नै सरकार अगाडि बढ्ला भन्ने अनुमान थियो तर भारतको संविधानप्रति प्रतिबद्ध त्यहाँका राजनीतिक दल र सरकारहरूले आफ्नो धर्म, संस्कृति र उपासना पद्धतिभन्दा पनि बढी महŒव देशको संविधानलाई दिने गर्दछन् । विगत साढे सात वर्षमा नरेन्द्र मोदीले देशको संविधानकै आधारमा शासनसत्ता चलाएका छन् तर सबै देशवासीसित एक समान व्यवहार पनि गर्दै आएका छन् । सनातन धर्म–संस्कृतिको मूलभाव नै ‘सर्वे भवन्तु सुखिनः’ रहेको कारण यसलाई मान्नेहरू भेदभाव गर्न सक्दैनन् ।

नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि गरेका केही महŒवपूर्ण निर्णयहरू एक हजार र पाँच सय रुपैयाँको प्रचलनमाथि रोक लगाइ नयाँ नोट जारी गर्नु ठूलो साहसिलो कदम थियो । भारतका जनता र व्यापारीलाई केही समयसम्म कष्ट पनि पुगेको थियो तर यसले भारतको जम्मु एवं काश्मीरमा जारी पृथकतावादी आन्दोलन र केही क्षेत्रमा जारी माओवादी आन्दोलनमाथि पनि रोक लगाउन ठूलो मदत गरेको थियो ।

दोस्रोपटक प्रधानमन्त्री भएपछि उनले जम्मु एवं काश्मीर प्रान्तलाई विशेष अधिकार प्रदान गर्ने धारा ३७० र अनुसूचि ३५ ‘ए’ लाई हटाउने निर्णय गरे । यो निर्णय दोधारे तलवार जस्तो थियो। तर यसमा पनि उनी सफल भए । मुगल शासकहरूको पालामा विध्वंस पारिएको भगवान् श्रीरामको मन्दिरमाथि मस्जिद बनाइएको विषयलाई भारतमा करीब पाँच सय वर्षदेखि विवादमा थियो । तर भारतको सर्वोच्च अदालतको फैसलाले राम मन्दिरको पक्षमा फैसला दिएपछि सहज एवं शान्तिपूर्णरूपमा यस विवादको पनि अन्त्य भयो । मुस्लिम महिलाहरूको निम्ति हानिकारक मानिएको तीन तलाक कानूनलाई पनि हटाउने काम भयो ।

गत डेढ वर्षदेखि कोभिड–१९ को महामारीका कारण भारतसहित विश्वजगत् त्रसित रहेको बेला भारतले दक्षिण एसियाका देशहरूसहित दर्जनौं देशलाई स्वास्थ्य सामग्री र औषधि सहयोग गरेको थियो । हालै भारतले एक खर्ब भारतीय नागरिकलाई कोभिड–१९ विरोधी खोप दिलाउन सफलता हासिल गरेको छ । ‘चीनको विरोधमा न केही बोलौं, न केही सुनौं र न केही भनौं’ मान्यता एसियाका देशहरूमा रहेको थियो तर मोदी सरकारले मुहानको डोकलाम र लद्दाखको सीमा क्षेत्र गलवान घाटीमा चिनियाँ सैनिकको कडा प्रतिकार गरी त्यहाँबाट फिर्ता हुन विवश पारेर आफ्नो आक्रामक नीतिको पनि सङ्केत दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here