काठमाडौं, १४ कात्तिक/रासस
सरकारले नेपाली राष्ट्रिय फूटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकूदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा आयोजित समारोहमा उनलाई नेपाली टोपी र खादा लगाएर सम्मान गरेका हुन् ।
आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ फूटबल च्याम्पियनशिपमा नेपाल उपविजेता भएको थियो । नेपाललाई पहिलोपटक साफ फूटबल च्याम्पियनशिपमा उपविजेतासम्म पु¥याउन उल्लेखनीय योगदान दिएबापत युवा तथा खेलकूद मन्त्रालयले योगदानको कदर गर्दै सम्मान गरेको हो ।
उक्त प्रतियोगितामा नेपालसहित, माल्दिभ्स, भारत, श्रीलङ्का र बङ्गलादेशले भाग लिएका थिए । भारतसँग ३–० गोलअन्तरले पराजित भई नेपाल उपविजेता बनेको थियो । सम्मान समारोहमा मन्त्री गहतराजले छोटो समयमैं प्रशिक्षक अल्मुताइरी फूटबल खेलाडी मात्र नभएर सम्पूर्ण नेपालीको ह्दयमा बस्न सफल भएको भनी योगदानको सराहना गरे ।
उनले भने, “नेपाल फर्किएकामा खुशी लागेको छ, तपाईं खेलाडीका लागि मात्र होइन, नेपालकै असल मित्र हुनुहुन्छ, सरकारले खेल क्षेत्रका समस्या बुझेको छ, सम्बोधन गर्न तयार छ ।” अल्मुताइरीको नेतृत्वमा नेपाली फूटबलको विकास र विस्तारमा थप महŒवपूर्ण योगदान हुने विश्वास व्यक्त गर्दै मन्त्री गहतराजले भने, “मन्त्रालय तपाईंको साथमा छ, तपाईं खेलाडीका साथमा हुनुहुन्छ ।”
युवा तथा खेलकूद मन्त्रालयका कामु सचिव डा कमल पोखरेलले प्रशिक्षक र खेलाडीको निरन्तरको अभ्यास एवं ठूलो मेहनतबाट नेपालले सकारात्मक नतीजा प्राप्त गर्न सफल भएको बताए । सम्मानित व्यक्तित्व मुख्य प्रशिक्षक अल्मुताइरीले समग्र खेलाडी र आफ्नो कडा परिश्रमबाट नेपालले फूटबलमा उच्चस्तरको नतीजा हासिल गरेको प्रतिक्रिया दिए ।