प्रस, वीरगंज, १४ कात्तिक/
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेता, कार्यकर्ताहरूलाई चुनावको तयारी शुरू गर्न निर्देशन दिएका छन् । दीपावली तथा छठ पर्वको अवसरमा वीरगंजको नगर सभागृहमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जसपा पर्सा जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “मलाई लाग्छ, निर्धारित समयभन्दा पनि पहिले चुनाव हुने सम्भावना छ, राजनीतिक सहमति भयो भने चाँडै चुनाव हुनेछ, तपाईंहरू अहिलेदेखि नै चुनावको तयारीमा जुट्नुहोस् ।” उनले कात्तिकदेखि माघसम्म चार महीनामा पार्टीभित्रका विकृतिहरू हटाउन पार्टीले शुद्धीकरण अभियान चलाएको जानकारी गराउँदै वडास्तरदेखि कार्यकर्ताहरूको प्रशिक्षण, शुद्धीकरण तथा आगामी चुनावमा कस्ता उम्मेदवारलाई जनप्रतिनिधिको रूपमा अघि सार्ने त्यसबारेमा पनि जिल्ला तहका नेताहरूले तयारी अगाडि बढाउनुपर्ने सुझाव दिए ।
उनले सङ्घीयता आइसकेपछि व्यवस्था बदलेको तर समाजको मानसिकता र नेताहरूको चिन्तन नबदलेको कारण समाज परिवर्तनको लागि सबैभन्दा पहिले राजनीतिक, आर्थिक र सामाजिक सोच बदलिनुपर्ने आवश्यकता रहेको औंल्याए । “जसपा गरीब, विपन्न, मधेसी, पिछडावर्ग, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायत राज्यद्वारा पछि पारिएका समुदायको पार्टी हो,” उनले स्पष्ट पार्दै भने, “न्याय, अवसर, सुशासन, विकास र समृद्धिको लागि पार्टीको राजनीति केन्द्रित रहेकोले व्यक्तिवादी चिन्तनबाट माथि उठेर जोशका साथ अघि बढ्नुपर्छ ।”
उनले राजनीतिक परिवर्तनको लागि पार्टीले मत पाउने समानुपातिक निर्वाचन र जनताद्वारा निर्वाचित राष्ट्रपतिको निर्वाचन प्रणालीबेगर देश विकसित नहुने बताए । “जनताले चुन्न पाउने कार्यकारी राष्ट्रपति आए भने चुनावमा नेताले खर्च गर्ने बाटो बन्द हुन्छ, विशुद्ध राजनीतिकर्मीले स्थान पाउँछन्,” उनले भने, “अहिलेदेखि नै मलाई फोन आउन शुरू भइसकेको छ, पैसा जम्मा पारिसकें चुनावमा टिकट चाहियो नेताजी भनेर ।”
आर्थिक विकासको एजेन्डामा उनले नेपालको पानीलाई उपयोग गरी देशमा कृषिलाई आधुनिकीकरण र औद्योगिकीकरण गरी गरीबी, बेरोजगारी अन्त्य गर्न पनि सरकार अग्रसर हुनुपर्नेमा उनले जोड दिए । नेपाल एउटा दरिद्र देश हो, तर पनि महँगो अर्थात् मिश्रित निर्वाचन प्रणाली लागू छ, यसले समाजमा पैसावालाहरूलाई नेता बनाइरहेको र अन्यलाई पाखा लगाइरहेको छ । उनका अनुसार यसरी नै समाजमा भ्रष्टाचार र कुशासन बढेरे जनताले सङ्घीयता महसूस गर्न पाएका छैनन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले लोसपा असंवैधानिक पार्टी भएकोले असंवैधानिक नेताहरूमाथि विश्वास नगर्न पनि जनतालाई अनुरोध गरे । उनले भने, “दुईपटक संविधानको अधिकार मिच्दै पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गरे, उनलाई जसपाकै एक तत्कालीन घटक राजपा अहिलेको लोसपाका नेताले सघाए, ओलीको कदमलाई सही भने, तर ओलीको कदम प्रतिगामी र गलत थियो, त्यस कारण उनलाई सघाउने पार्टी र नेता पनि असंवैधानिक हुन् ।”
जसपा बाराका सांसद रामबाबूप्रसाद यादवले पार्टीको विधानविपरीत काम गर्नेलाई पार्टीले नछोडने चेतावनी दिए । प्रदेश २ का राज्यमन्त्री योगेन्द्रप्रसाद यादवले पार्टीको निर्णय नमानी आचरणविपरीत काम गर्ने र पार्टीको झन्डा जलाउने काम निन्दनीय भएको बताए । उनले पार्टीको विचार र झन्डाभन्दा माथि कोही छैन, यदि कसैले झन्डा जलाइरहेको छ भने धेरै घमण्ड नगर्न उनले आग्रहसमेत गरे ।
प्रदेश सांसद करिमा बेगमले पार्टी अध्यक्ष अभिभावक भएकाले एकपटकको गलतीलाई महसूस गराइ मिलेर जानु राम्रो हुने बताइन् । जिल्ला सभापति रामनरेश यादवको सभापतित्व र जिल्ला सचिव तबरेज अहमदको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । मञ्चमा देखिएनन् सांसद प्रदीप यादव जसपाका नेता एवं पर्साका सङ्घीय सांसद प्रदीप यादव कार्यक्रममा देखा परेनन् । वीरगंज आउनुभन्दा तीन दिनअघि कात्तिक ११ गते उनलाई ७ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका पार्टी अध्यक्ष यादवले विगत १४ वर्षभित्र पहिलोपटक वीरगंजमा प्रदीप यादवबेगर कार्यक्रममा सहभागी भए ।
प्रदीप यादव २०६४ सालमा पार्टीमा प्रवेश गरेसँगै पार्टीतर्फबाट जिल्लामा उनकै वर्चस्व र दबदबा रहेको छ । पछिल्लोपटक जसपा सरकारमा जाँदा मन्त्रिपरिषद् विस्तारमा जसपाको सूचीमा प्रदीप यादव नअटाएपछि उपेन्द्र यादव र प्रदीप यादवबीच मतान्तर रहेको थियो ।
गत असोज २३ गते प्रदीप यादव समर्थित युवा विद्यार्थीहरूले वीरगंजको घण्टाघरमा विरोध प्रदर्शन गरी उपेन्द्र यादवको पुतला जलाउँदै उपेन्द्र यादवलाई वीरगंजमा निषेध गरिएको आह्वान गरेका थिए । पार्टीले उनलाई तीन दिनभित्र कारण खुलाइ स्पष्टीकरण सोधेकोले सांसद यादवलाई कार्यक्रममा आमन्त्रण नगरिएको जसपाका एक जिल्ला तहका नेताले बताए ।