प्रस, वीरगंज, १४ कात्तिक/
वीरगंज उद्योग वाणिज्य सङ्घले आन्तरिक राजस्व कार्यालय, पर्साको प्रमुखको जिम्मेवारी पाएका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीसँग आइतवार छलफल गरेको छ ।
सङ्घमा आयोजित छलफलमा वीउवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, बढ्दो आर्थिक महŒव र अपार सम्भावनाबारे जानकारी गराएका थिए । उनले उद्योग वाणिज्य क्षेत्रमा रहेका चुनौती तथा समस्याबारे जानकारी गराएका थिए । उनले निजी क्षेत्र मैत्री कर प्रशासन ल्याउनुपर्ने, करको दर नबढाइ दायरा बढाउनुपर्ने, ननफाइलरको पहिचान गरी करको दायरामा ल्याउनुपर्नेलगायतका सुझाव दिएका थिए ।
यसैगरी, ठूला करदाताको कार्यालय राजधानीमा मात्रै सीमित रहेको कारण मोफसलका ठूला करदाताले कठिनाइ भोग्नुपरिरहेकाले ठूला करदाताको लागि मोफसलका आन्तरिक राजस्व कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने माग राखे ।
आन्तरिक राजस्व कार्यालय, पर्साका प्रमुख कर अधिकृत कपिलप्रसाद सुवेदीले कार्यालयमा कर्मचारीको सङ्ख्या कम भएपनि सेवाग्राहीहरूलाई छिटो, छरितो एवं गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गरे । उनले विद्यमान करसम्बन्धी ऐन कानूनमा प्रमुख कर अधिकृतलाई आफ्नो विवेक लगाउने तजबिज नरहेको प्रस्ट्याए ।
त्यस्तै, उनले करसम्बन्धी शिक्षाको अभावमा करदाताहरूले जरिवाना तिर्नुपर्ने बाध्यता रहेकाले करसम्बन्धी प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखी काम गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए भने नेउवामहासङ्घ प्रदेश नं २ का अध्यक्ष गणेशप्रसाद लाठ, सङ्घका पूर्वअध्यक्ष अशोककुमार बैद, अशोककुमार टेमानी, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, सचिव अरविन्द अमात्य, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव अनोज रूँगटालगायत सहभागी थिए ।