प्रस, वीरगंज, १४,कात्तिक/

हिन्दूहरूको महान् पर्व छठलाई मध्यनजर गरी श्रीसिया नदीमा हुने प्रदूषण नियन्त्रण गर्न अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घ पर्साले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएको छ ।

अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासङ्घ पर्साका अध्यक्ष अकलेश साहले प्रजिअ उमेशकुमार ढकाललाई छठ पर्व नजीक आइसकेकोले श्रीसिया नदीको प्रदूषण नियन्त्रण गर्न माग गरेका थिए।

पर्सा जिल्लाका विभिन्न स्थानमा खासगरी महानगर क्षेत्रमा बग्ने श्रीसिया नदीका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा मानिसहरू छठ पूजा गर्दै आएको र नदी प्रदूषणको कारण बर्तालुहरूले नदीमा पसेर साँझ र बिहानको अघ्र्य दिएपछि छालाको रोगबाट पीडित हुने गरेको भन्दै छठलाई लक्षित गरेर कलकारखानाहरूलाई प्रशोधित पानी मात्र नदीमा छाड्न र प्रशोधन नभएको पानी सञ्चय गरी छठ पर्वपछि मात्र नदीमा खसाल्न ज्ञापनमा आग्रह गरिएको छ ।

श्रीसिया नदीको प्रदूषण रोकथामको लागि विभिन्न चरणमा आन्दोलन र विरोधका कार्यक्रम हुँदै आए पनि कलकारखानाबाट नदीमा प्रशोधित पानी खसाल्ने कार्यले निरन्तरता पाउन सकेको छैन।

अनुगमनको क्रममा पानी प्रशोधन गरिने बताइए पनि अहिलेसम्म त्यस्तो काम हुनसकेको छैन, जसले गर्दा श्रीसिया प्रदूषणमुक्त हुन सकेको छैन ।

ज्ञापन बुझ्दै प्रजिअ ढकालले आफूले सक्दो प्रयास गर्ने आश्वासन दिए । ज्ञापन बुझाउन ओबिसीका गापा उपाध्यक्ष भगवानलाल पटेल, जिल्ला सचिव राजन साह, अमित कायस्थलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here