प्रस, वीरगंज, १४ कात्तिक/
पर्सेली सचेत युवाहरूको समूहले पर्साको ग्रामीण भेगलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको तिलावे खोलामा पुल यथाशीघ्र निर्माण गर्न माग गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल र हुलाकी सडक निर्माण निर्देशनालय वीरगंजलाई आइतवार ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र पुल निर्माणको लागि माग गरिएको हो । तिलावे पुल निर्माण दबाब समूह गठन गरी कार्यक्रम गरिएको दबाब समूहका राजेश यादवले बताए ।
ज्ञापनपत्र बुझ्दै ठेकेदारलाई कानूनको दायरमा ल्याउँदै पुल निर्माण कार्य अघि बढाउने प्रजिअ ढकालले आश्वासन दिए ।
हुलाकी निर्देशनालयको कार्यालय वीरगंजले पुल निर्माणको जिम्मा पप्पु र लुम्बिनीकै भएकोले उनीहरूबीच एकापसमा भएको विवादका कारण पुल निर्माणको काम अवरुद्ध भएको जनाएको छ । कार्यालयले ती दुई ठेकेदार कम्पनीबीच आर्थिक लेनदेन नमिलेपछि दुवैले काममा ढिलाइ गरेको बताएको छ ।
कार्यालयका एक इन्जिनीयरका अनुसार दुवै ठेकेदार कम्पनीमाथि कारबाई प्रक्रिया अघि बढाइसकिएको छ । उनले सात दिने कारबाईको सूचना गरेको र हालसम्म ठेकेदारले कार्यालयमा सम्पर्क नगरेको बताए । अब अख्तियारमा पत्राचार गरी ठेकेदारको खोजी कार्यको लागि प्रहरीमा चिठी काट्ने हुलाकी सडक निर्माण निर्देशनालय वीरगंजको तयारी रहेको पनि उनले बताए ।
विमलेन्द्र निधि भौतिक पूर्वाधार विकासमन्त्री विमलेन्द्र निधि हँुदा आव २०७४/७५ मा उक्त पुलको निर्माण शुरू भएको थियो । दुई वर्षभित्र काम सम्पन्न गर्न पप्पु/लुम्बिनी जेभीले पक्की पुल निर्माणको लागि ठेक्का पाएको थियो । पुलको करीब ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
उचित डाइभर्सन नहुँदा पुल निर्माण कार्यमा समस्या हुने गरेको छ । पुल निर्माण सम्पन्न नहुँदा पर्साको ग्रामीण भेगका जनता वीरगंज आउजाउ गर्दा सदैव बिहान र बेलुका पुलमा लाग्ने घण्टौं जामबाट पीडित छन् ।