- समीर पाख्रिन
समय ः उही । स्थान ः पथलैया–अमलेखगंज सडकखण्ड ।
अङ्कित र उषा अमलेखगंज पुग्नै आटेका छन् । उषाले अङ्कितलाई बाइक स्लो भयो अलिक तेज चलाऊ भन्दैछे ।
अङ्कित ः योभन्दा कति स्पीड गर्नु ? बाइक योभन्दा बढी स्पीडमा कुदिरहेकै छैन ।
उषा ः अनि अलिक राम्रो बाइक खोजेर ल्याउनुपर्दैन ? जाबो खटारा बाइक लिएर लङ ड्राइभमा हिंडेको ? मलाई त यो बाइक हेटौंडा पुग्लाजस्तो लागेन ।
अङ्कित ः चुप लाग, यो तिम्रै प्रोग्राम हो । चाहिंदो नचाहिंदो प्रोग्राम बनाउँछ आफैं ।
नेपाल आयल निगमनेर पुगेपछि बाइक एकाएक घ्याच्च रोकिन्छ ।
ला के भो ? (झस्केजस्तो भावभङ्गिमा)
उषा ः फेरि के भो ? (झर्कंदै)
अङ्कित ः खै, के भो एक्कासि स्टार्ट बन्द भयो । उषा तिमी ओर्ल त म हेर्छु ।
उषा अङ्किततिर आँखा तर्दै बाइकबाट ओर्लन्छे ।
उषा ः (विचलित भावभङ्गिमा) मनीषा र सुषमा परैहरू नयाँ बाइकमा सरर जाँदै होलान् । म मात्रै खटारामा ।
अङ्कितले जति स्टार्ट गर्ने कोशिश गरे पनि बाइक स्टार्ट हुँदैन ।
अब यो बाइक स्टार्ट होला जस्तो छैन ।
अङ्कितलाई पप्पुले भनेको कुरा स्मरण हुन्छ ।
अङ्कित ः उषा, अब के गर्ने ? बाइक अगाडि जाला जस्तो छैन ।
उषा ः मलाई जसरी भएपनि शहीद स्मारक पुग्नु छ । अरू कुरो मलाई थाहा छैन । (रिसाएको मुख मुद्रामा)
अङ्कित ः त्यसो भए म बस रोकिदिन्छु, तिमी बसमा जाऊ न त ।
उषा ः अनि तिमी चाहिं के गर्छाैं नि ?
अङ्कित ः अर्काको बाइक बाटोमा अलपत्र छाडेर हिंडने कुरा आएन ।
यति नै बेला पथलैयातर्फबाट आएको एउटा बाइक अङ्कित र उषा नजीकै आएर रोकिन्छ । बाइकवाला (प्रीतम)ले हेल्मेटको सीसाबाट उषालाई शिरदेखि पाउसम्म दोहो¥याई दोहो¥याई हेर्छ ।
बाइकवाला ः भाइ, के भो ?
अङ्कित ः हेर्नोस न दाइ, अचानक स्टार्ट बन्द भयो ।
बाइकवाला ः (उषातिर कर्के नजरले हेर्दै) कहाँ पुग्नुपर्ने होला ?
अङ्कित ः हामी हेटौंडा शहीद स्मारक ।
बाइकवाला ः लङ ड्राइभमा हिंड्दा यस्तो पुरानो बाइक लिएर हिंडने हो त ? (उषातिर हेर्दै) अँ म पनि हेटौंडा नवलपुरसम्म पुग्छु ।
उषाले अङ्कितलाई पुलुक्क हेर्छे ।
अङ्कित ः (अङ्कितले इशारा बुझेजस्तो गरी) उषा के गर्छाै ? तिमी जाने हो भने जाऊ । मलाई यो मोटरसाइकल बाटोमा छाडेर जान मिल्दैन ।
उषा ः (बाइकवालालाई राम्ररी नियालेपछि) अङ्कित, तिमी बाइक कतै राखेर आऊ न त । म जाँदै गर्छु । मनीषा र सुषमाले पनि फोन गरेर हैरान पारिसके, पर्खेर बसिरहेका होलान् ।
उषा पछाडि बसेपछि बाइक तीव्र गतिमा हेटौंडातिर हुइकिन्छ । बिचरा अङ्कित आफ्नो प्रेमिका अपरिचित व्यक्तिसित बाइक चढेर गएको निरीह बनेर हेरिरहन्छ ।
०००
समय ः मध्याह्न । स्थान ः हवलदारको डेरा ।
सुशीला एक थुप्रो जूठो भाँडातिर हेरेर मुर्मुरिन्छे ।
सुशीला ः नकचरी भाँडासमेत नमाझी हेटौंडातिर लागी । कोही माग्न आए पनि यसलाई दिनु हुन्थ्यो खै आउँदैनन् । अब आफैं त बस्नुप¥यो नि भाँडा माझ्न ।
(घरबेटी–बज्यै बार्दलीबाट तलतिर हेर्छे ।)
घरबेटी–बज्यै ः ए हवलदार्नी बहिनी, आज त यतिबेलासम्म भाँडा पनि माझेकी छैनौ त ? तिम्री चोथाली छोरी शृङ्गारपटार गरी बिहानै हिंडेकी देखेकी थिएँ ।
सुशीला ः (घरबेटी बज्यैतिर रिस उठ्दो नजरले हेर्छे र आफैंसित) हेर न हेर, कुरा खोजेकी यो बूढीले ।
सुशीला भाँडा माझ्न बसेकी मात्र के हुन्छे, इमानसिंह हवलदार टुप्लुक्क आइपुग्छ ।
इमानसिंह ः लौ हेर त, बिहान खाएको जूठो भाँडा यतिबेला पो माझ्दै रहिछे । सुशीला ः उषाले माझी होली भनेकी, त्यतिकै छाडेर हिंडी छे ।
इमानसिंह ः कता गई त उषा ? आज त त्यसको क्याम्पस बिदा होइन र ?
क्रमशः