प्रस, वीरगंज, ११ कात्तिक/

जनता समाजवादी पार्टी वीरगंज महानगर समितिले बिहीवार प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले १८ वर्षीय भारतीय युवती जयतुन नेसा हत्या घटनामा वीरगंज महानगरपालिका–१३ का अध्यक्ष तुफान फारुख अन्सारीसमेत तीनजनाविरुद्ध मुद्दा दायर गरेको विरोधमा जसपा वीरगंज महानगर समितिले अन्सारीविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

महानगर समितिका अध्यक्ष ईश्वरचन्द्र यादवको नेतृत्वमा घण्टाघरबाट निकालिएको विरोध जुलुसले नगरपरिक्रमापछि प्रजिअलाई ज्ञापन बुझाएको थियो ।

प्रजिअमार्फत गृह मन्त्रालयलाई ज्ञापन बुझाएको र मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपाका महानगर समितिका अध्यक्ष यादवले चेतावनी दिए । उनले भारतमा घटित घटनामा वडाध्यक्षको संलग्नता हास्यास्पद भएको बताए । उनले शुरूका दिनमा सो घटनामा अन्य माथि मुद्दा चलाइएको र पछि वडाध्यक्षविरुद्ध पनि मुद्दा दायर गरिएकोले प्रहरीको नियत दोषपूर्ण भएको आरोप लगाए । उनले घटनाबारे बुधवार मुख्यमन्त्री लालबाबूराउत गद्दीको पनि ध्यानाकर्षण गराएको जानकारी गराए ।

पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले घटनामा वडाध्यक्षको समेत संलग्नता पुष्टि भएपछि वडाध्यक्ष अन्सारीलगायत अन्यविरुद्ध मुद्दा दायर गरी पक्राउ पुर्जी जारी भएको बताए । मुद्दा दायर भएपछि वडाध्यक्ष अन्सारी फरार छन् । उनीविरुद्ध मुद्दा दायर भएको र पक्राउ पुर्जी जारी गरिएको जानकारी वीरगंज महानगरपालिका कार्यालयलाई गराइएको प्रउ पाण्डेले बताए ।

जयतुन नेसा घटनामा प्रहरीले निजका पिता समसुद्दीन अन्सारीलाई भने पक्राउ गरेको छ । यो घटनामा जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँका जेठा छोरा नासिर मियाँविरुद्ध पनि मुद्दा दायर भएको छ । नासिर पनि मुद्दा दायर भएर पक्राउ पुर्जी जारी भएपछि फरार भएको प्रउ पाण्डेले बताए । फरार दुवैजनाको खोजी जारी रहेको उनले प्रतीकलाई बताए ।

यो घटना असोज २१ गतेको हो । भारतमा बलात्कारपछि पासो लगाएर आत्महत्या गरेकी १८ वर्षीया जयतुन नेसा नासिर मियाँकी साली हुन् । मृत्युपछि उनको भारतमा अन्तिम संस्कार नगरी वीरगंज–१३ मुर्लीस्थित कब्रिस्तानमा गरिएको थियो । प्रहरीले सूचनाको आधारमा कब्रिस्तानमा गाडिएको शव खनेर नियन्त्रणमा लिएको थियो र बरामद शवको काठमाडौंमा शल्यपरीक्षण गराएको थियो ।

शल्यपरीक्षण रिपोर्टमा युवतीको मुृत्यु झुन्डिएर भएको र अभियुक्त तीनजनाले प्रमाण दबाउन सहयोग गरेकाले मुलुकी ऐनको दफा ९३ बमोजिम मुद्दा दर्ता गरी कारबाई प्रक्रिया अगाडि बढाएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले यसअघि पुष्टि गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here