प्रस, जीतपुर, १० कात्तिक/

वीरगंज–पथलैया ३१ किलोमिटर छ लेन सडक निर्माणको काम ७६ प्रतिशत पूरा भएको व्यापारिक मार्ग विस्तार योजना वीरगंज–पथलैया सडक कार्यालयका सूचना अधिकारी सम्पतलाल दासले बताएका छन् ।

२०७३ सालदेखि शुरू भएको यो योजना तोकिएको समयभन्दा निकै बढी समय बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । २०७३/३/२९ मा ठेकेदार कम्पनीहरूसँग सम्झौता भएको र सोही वर्षको साउन १ गतेदेखि सडकखण्ड निर्माण कार्य शुरू भएको थियो ।

सम्झौता अनुसार तीस महीना अर्थात् २०७५ माघ मसान्तसम्म यो सडकखण्डको काम सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा करीब तीन वर्ष बढी बितिसक्दा पनि अहिलेसम्म ७६ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

सूचना अधिकारी दासले विभिन्न कारणवश म्याद थप गर्नुपर्ने बाध्यता आइपरेको र अब अन्तिमपटकका लागि चालू आवको चैत मसान्तसम्मको समय सीमा दिइएको बताए । उनले अब कुनै पनि बहानामा म्याद थप नहुने र चैत मसान्तसम्म कार्य सम्पन्न गर्न नसक्ने ठेकेदार कम्पनीविरुद्ध कानूनी कारबाई अवलम्बन गरिने चेतावनी दिएका छन् ।

उनले निर्माण सामग्री, निर्माणस्थल, प्राविधिक पाटो, कोरोनालगायतका कारण म्याद थप हुँदै आएको भएपनि अबको म्याद अन्तिम भएको बताए । सरकारको निर्णयबाट चैत मसान्तसम्म म्याद थप भएको प्रस्ट्याउँदै उनले तोकिएको समयमा कार्य सम्पन्नताको लागि ठेकेदार कम्पनीलाई निरन्तर दबाब दिने जानकारी गराए ।

सूचना अधिकारी दासले व्यापारिक मार्गको वीरगंज–पथलैया सडकखण्ड अन्तर्गत पथलैया चोकदेखि सूर्य नेपाल सिमरासम्म ९४ प्रतिशत, सूर्य नेपालदेखि सैनिक ब्यारेक जीतपुरसम्म ५५ प्रतिशत, सैनिक ब्यारेकदेखि परवानीपुरसम्म ८० प्रतिशत, परवानीपुरदेखि गण्डकचोकसम्म ९१ प्रतिशत, परवानीपुरदेखि गण्डक नहरसम्म ६० प्रतिशत, गण्डक नहरदेखि हरपतगंजसम्म ८३ प्रतिशत, हरपतगंजदेखि श्रीसिया सुक्खा बन्दरगाहसम्म ६६ प्रतिशत सडक निर्माण भएको र समग्रमा ७६ प्रतिशत कार्य सम्पन्न भएको बताए ।

यसैगरी, छ लेन सडकखण्डको सूर्य नेपालदेखि सेनाको ब्यारेकसम्म छ किमी दूरीको सडक निर्माणमा ढिला हुँदा आवतजावतमा समस्या छ । यो क्षेत्रमा सडक निर्माणको जिम्मेवारी पाएको शर्मा युनाइटेड/दिवा निर्माण सेवाका प्रतिनिधि खगेन्द्र न्यौपानेले अबको एकाध दिनमा कार्य शुरू हुने बताए । उनले कार्य शुरू भएको तीन महीनाभित्र सडक निर्माणको बाँकी कार्य सम्पन्न हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here