प्रस, वीरगंज, १० कात्तिक/
पर्सामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा बढी बेरुजरु रु १० करोड ३१ लाख धोबिनी गाउँपालिकामा देखिएको छ । १४ वटा स्थानीय तहमध्ये एक महानगर, तीन नगरपालिका र १० गापा रहेकामा अन्य गापाको तुलनामा दोब्बर बेरुजू धोबिनी गापामा भेटिएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा भएको लेखापरीक्षण अनुसार महालेखापरीक्षकको कार्यालयले यो तथ्याङ्क सार्वजनिक गरेको हो । सोमध्ये सीधा भुक्तानी गरेबापत रु ३ करोड २ लाख ४६ हजार बराबरको कागजात पेश गर्नुपर्ने, रु ३ करोड २९ लाख नियमित तथा रु ३ करोड ७८ लाख पेश्की असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
सो आर्थिक वर्षमा गापाले फुटहा जस्तो रकम वितरण तथा आँखा चिम्लेर भुक्तानी गरेको देखाइएको छ । कोभिडको बेला सो गापाले रु २ करोड खर्चेको छ । कोभिड सङ्क्रमितहरूका लागि खाना, औषधिलगायत बन्दोबस्तीका सामान खरीदमा उक्त रकम खर्चिएको छ ।
गापाको गुरुयोजना (डिपिआर) बनाउन दुईवटा कम्पनीलाई रु ३५ लाख भुक्तानी गरिएको छ । सौर्य सिंचाइ प्रणाली जडानको डिपिआर बनाउन इम्पेरियल इन्जिनीयरिङ कन्सल्टेन्सीलाई रु १५ लाख ३९ हजार तथा गापाको सडकको डिपिआर बनाउनका लागि ओरियल कन्सल्टेन्सी काठमाडौंलाई रु १९ लाख ९९ हजार भुक्तानी दिएको छ ।
भुक्तानी दिए पनि अहिलेसम्म डिपिआर भने बनेको छैन । यतिमात्र हैन गापाको कार्यालयले ओरियल कम्पनीसँग आव २०७६/७/२० सम्झौता गरी २०७६/८/२० अर्थात् १३ दिनमा भुक्तानी दिएको थियो । तर कम्पनीले तीन महीनाको श्रमिक बिल भरपाई गापामा पेश गरेको छ । त्यसैगरी, अर्काे कम्पनीलाई छ दिन काम गरेबापत भुक्तानी गरेको छ र श्रमिक बिल भरपाई ६० दिनको कम्पनीले पेश गरेको छ ।
काम नगरी भुक्तानी दिएकोले ती दुवै कम्पनीले गापासँग ठगी गरेको देखिन्छ । त्यतिमात्र हैन गापाले दुवै कम्पनीलाई यातायात खर्चबापत जनही रु २ लाख ५० हजार दिएको देखिन्छ । सो गापाले घोडदौडा पिपराको ओरिया खोलामा झोलुङ्गेपुल निर्माण गर्न उपभोक्तामार्फत रु ९५ लाखमा सम्झौता गरेकोमा २०७७/१२/२८ सम्म कामको प्रगति १० प्रतिशत तर पटक–पटक गरी रु ४४ लाख भुक्तानी दिएको देखिन्छ ।
प्राविधिक मूल्याङ्कन नगरी सो भुक्तानी दिएकोमा प्रमुख प्रशासकीय अधिकृत तथा गापा प्रमुखको मिलेमतो रहेको देखिन्छ । अहिले दुई वर्ष बित्यो तर केही काम भएको छैन । त्यसैगरी, प्राविधिक मूल्याङ्कन नगरी सौर्य इनर्जी प्रालिलाई रु ४९ लाख भुक्तानी दिएको छ । मालेपले ३० जना कर्मचारीलाई करारमा राखी बर्सेनि एक करोड भुक्तानी दिनु गलत भएको बताएको छ ।
गापाको आफ्नो भवन भएपनि वीरगंजमा ओमप्रकाश यादवको घर भाडामा लिएर मासिक रु २५ हजार दिनुको औचित्य नरहेको मालेपको भनाइ छ । सो गापाले खाना र विविध खर्चमा रु ३९ लाख ९३ हजार खर्च गरे पनि बिल भरपाई भने पेश गरेको छैन ।
सुनौलो नेपाल सामाजिक संस्थाले २०७७ असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमबापत रु ५ लाख भुक्तानी लिएको छ । सो गापाले कर्मचारी भ्रमण आदेश प्रतिवेदनको आधारमा रु १७ लाख, तीनजना कर्मचारी र दुईजना जनप्रतिनिधिलाई योजना भ्रमणबापत रु ६ लाख ९० हजार भुक्तानी दिएको छ ।