प्रस, परवानीपुर, १० कात्तिक/
वीरगंज–२५ श्रीसियास्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा बिसिएन (बोराबन्द) गोदामका पलदारहरू काम ठप्प पार्दै हडतालमा उत्रेका छन् ।
काम गर्ने क्रममा घाइते भई उपचारको क्रममा एक मजदूरको मृत्यु भएपछि उचित क्षतिपूर्तिको माग गर्दै करीब ४ सय पलदार (मजदुर) काम ठप्प पार्दै आन्दोलित भएका हुन् ।
बुधवार बिहान १० बजेपछि उनीहरूले बिसिएन गोदाममा मालसामान लोड, अनलोडको काम ठप्प पारेका थिए । वीरगंज–२६ आठराहाका ३५ वर्षीय पलदार बिरजु पटेल गत बुधवार सवा ९ बजे पिनाको बोरा मालगाडीबाट अनलोड गर्ने क्रममा बर्खाको पानीले चिप्लिएर लडेका थिए । लडेपछि ५० किलोको बोरा उनको घाँटीमा परेर उनी गम्भीर घाइते भएका थिए ।
वीरगंजस्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गरी काठमाडौं लगिएकोमा हिजो मङ्गलवार बिहान ३ बजे उनको मृत्यु भएको र बुधवार उनको शव वीरगंज ल्याउने तयारी भइरहेको छ ।
वीरगंज–१७ अलौंका करण चौधरीको ठेक्कामा कार्यरत पटेलको परिवारलाई क्षतिपूर्ति नपाएसम्म काम ठप्प पारी आन्दोलन जारी राख्ने मजदूरहरूले बताएका छन् । सुक्खा बन्दरगाहमा नेपाल र भारतका दैनिक ज्यालादारीमा करीब आठ सय मजदूर काम गर्छन् । उनीहरूलाई काममा खटाउने तर स्वास्थ्य सुरक्षा र क्षतिपूर्तिमा ठेकेदारले ध्यान नदिने गरेको मजदूरहरूको गुनासो छ ।
यस विषयमा सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्रीले समस्या समाधानको लागि वार्ता भइरहेको बताए । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पीडित परिवारलाई रु ६ लाख क्षतिपूर्ति दिने सहमति भएको र पलदारहरूले काम शुरू गर्ने जनाए ।