तीनै तहको सरकारमा काङ्ग्रेसले बहुमत ल्याउँछ –मन्सुर

0

प्रस, वीरगंज, १० कात्तिक/

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य फरमुल्ला मन्सुरले आगामी चुनावमा नेपाली काङ्ग्रेसले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारमा बहुमत ल्याउने दाबी गरेका छन् । नेका जीतपुरसिमरा उपमहानगर–१२ ले दीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा केन्द्रीय सदस्य मन्सुरले नेपाली काङ्ग्रेसको बहुमतको सरकार बन्ने ठोकुवा गरेका हुन् ।

उनले अहिले काङ्ग्रेसको पक्षमा जनमत रहेको दाबी गर्दै आगामी चुनावमा तीनै तहको सरकारमा काङ्ग्रेसको बहुमत आउने बताए ।नेता मन्सुरले एमाले नेतृत्वको प्रधानमन्त्री ओलीले साढे तीन वर्षसम्म जनताको हितमा काम नगरेको र पार्टी सहकर्मीविरुद्ध प्रपञ्च रचेको आरोप लगाए ।

ओलीले शक्तिको बलमा नातागोता भर्ती केन्द्र बनाएको र संविधानलाई दुईपटक अपदस्थ गर्न खोजेको आरोप लगाए । उनले अहिलेको अवस्थामा सबैथरीबाट काङ्ग्रेसको बहुमत आउने सम्भावना रहेको दाबी गरे ।

नेता मन्सुरले नेपाली काङ्ग्रेसले सबैको अधिकार सुनिश्चित हुनेगरी समन्वयकारी भूमिका खेलेको बताए । कार्यक्रममा नेका बाराका सभापति जयचन्द चौरसिया, संविधानसभा सदस्य डा शोभाकर पराजुली, रामानन्द यादव, देवेन्द्र उपाध्याय, मुकेश कुशवाहा, श्यामबाबू गुप्ता, नारायणी रायमाझीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम वडा नं १२ का बुथ सभापति विश्वनाथ साहको सभापतित्वमा भएको थियो ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here