प्रस, पंचगावाँ, ९ कात्तिक/
सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमाले र जनता समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ । मङ्गलवार नेकपा एमालेले गापा अध्यक्ष प्रदीप जायसवालविरुद्ध प्रदर्शनसहित ज्ञापन दिने कार्यक्रम निर्धारण गरेको थियो ।
एमालेले निर्धारण गरेको विरोध कार्यक्रम बिथोल्न गापा अध्यक्ष जायसवालले आफ्ना समर्थकहरू तैनाथ गरेका थिए र ज्ञापन बुझाउन जाने क्रममा गापा कार्यालयअगाडि दुवै पार्टीका कार्यकर्ताबीच झडप भएको हो । झडपमा एमाले कार्यकर्ता लक्ष्मिनिया देवी र अमिताभ बच्चन साह घाइते भएका छन् ।
घाइते दुवैलाई उपचारका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुवै पार्टीका कार्यकर्ताबीच सम्भावित भिडन्त हुन सक्ने भनेर सुरक्षाकर्मीहरू तैनाथ थिए । जसले गर्दा ठूलो दुर्घटना हुन पाएन । सुरक्षाकर्मीहरूले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए ।
यसअघि एमाले कार्यकर्ताहरूले श्रीपुर पंचगावाँ बजारबाट विरोध ¥याली निकालेर गापा अध्यक्षविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले गापामा भ्रष्टाचार मौलाएको, प्रमुख प्रशासकीय अधिकृत आफू अनुकूलको ल्याएर कमिशनतन्त्रलाई बढावा दिएको आरोप लगाएका थिए । विरोध ¥यालीपछि बजारमा कोणसभा गरिएको थियो ।
कोणसभामा एमालेका स्थानीय नेताहरूले गापामा चरम भ्रष्टाचार भएको भन्दै सो बन्द नगरिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । ज्ञापनपत्र बुझ्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत भोजेन्द्रकुमार चौधरीले सम्पूर्ण विवरण सात दिनभित्रमा उपलब्ध गराउने आश्वासन दिएका थिए।