बेमौसमी वर्षाले सुर्ती र तोरी खेती प्रभावित

0

माधव तिल्मिसिना, ठोरी, ९ कात्तिक/

बेमौसमी वर्षाले ठोरीमा तोरी छर्ने र सुर्ती खेती गर्ने किसान मर्कामा परेका छन् । नगदेबाली तोरी र सुर्ती खेती गर्ने यहाँका किसान बेमौसमी वर्षाका कारण माटो चिस्यान भएकोले खेती गर्न ढिला भएको बताउँछन् ।

असोजको दोस्रो सातादेखि सुर्ती रोप्न शुरू गरेका किसानको सुर्तीबालीमा बेमौसमी वर्षाले क्षति पु¥याएको छ । वर्षा हुनुअघि सुर्ती रोपेका अधिकांश किसानको ३० देखि ४० प्रतिशत सुर्तीबालीमा क्षति पुगेको किसानहरू बताउँछन् ।

असोज दोस्रो सातामा सुर्ती रोपेका ठोरी गापा–४ शान्तिटोलका तोकबहादुर गोलेले २६ कट्ठामा लगाएको सुर्तीबालीमध्ये करीब १० कट्ठाभन्दा बढी बाली बेमौसमी वर्षाले नष्ट भएको बताए । सोही वडाका अर्का किसान ठूलो कान्छा पाख्रिनले करीब आठ कट्ठामा लगाएको सुर्तीबाली बेमौसमी वर्षाले आधाभन्दा बढीमा क्षति पुगेको छ । पाख्रिनले वर्षाले सुर्ती खेतमैं कुहिएको बताए ।

यसैबीच, दशैं पर्व मनाएर सुर्ती रोप्ने तयारी गरेका किसानलाई पनि बेमौसमी वर्षाले प्रभाव पारेको छ । सुर्ती लगाउन खनजोत गरेर ठीक्क पारेको खेतमा पानी जमेका कारण चिस्यान अत्यधिक भएकोले सुर्ती लगाउन बाधा पुगेको किसानले बताए ।

बलौटे खेत भएका किसानले सुर्ती रोप्न थाले पनि चिम्ट्याइलो माटो भएका किसानलाई भने खेत जोत्न समस्या भएको छ । खेतमा अझै चिस्यान रहेकाले जोत्न समस्या परेको किसानहरूको भनाइ छ । एकथरी किसानहरूलाई अघिल्लोपटक जोतेर ठीक्क पारेको खेत फेरि जोत्नु परेर खर्च बढेको छ भने अर्कोथरी किसान सुर्ती रोप्न ढिलाइ हुँदा उत्पादन घट्ने चिन्ताले ग्रसित छन् ।

ठोरीमा लामो समयदेखि नगदेबालीको रूपमा सुर्तीखेती हुँदै आएको छ । अन्य बालीको तुलनामा राम्रो मुनाफा पाइने भएकाले यहाँका अधिकांश किसानको रोजाइमा सुर्तीखेती परेको छ । यस वर्ष ठोरी गापा–३ र ४ मा सबैभन्दा धेरै सुर्तीखेती गरिएको छ ।

यी दुई वडामा मात्र ३५० हेक्टर क्षेत्रफलमा सुर्तीखेती गर्ने लक्ष्य राखिएको सूर्य नेपाल प्रालिका कृषि प्राविधिक दीपक पण्डितले बताए । उनले छठपछि मात्र कति क्षेत्रफलमा खेती भएको हो भन्नेबारे यकीन तथ्याङ्क आउने बताए । उनले बेमौसमी वर्षाले खेतमा अत्यधिक चिस्यान हुँदा किसानलाई सुर्ती रोप्न ढिलाइ भइरहेको भएपनि कात्तिक दोस्रो सातासम्म रोपाइँ सकिने बताए ।

यसैगरी, ठोरीमा अर्को प्रमुख नगदेबाली तोरीखेतीमा पनि बेमौसमी वर्षाले असर पारेको छ । तोरी छर्नुपर्ने खेतमा अत्यधिक चिस्यान भएकाले तोरीको बीउ कुहिने डरले किसानले तोरी छर्न सकेका छैनन् ।

सामान्यतया दशैंपछि तोरी छर्ने किसानलाई पानीले समस्यामा पारेको ठोरी गापा–४ का किसान काशीनाथ नेपालले बताए । उनले बेमौसमी वर्षाका कारण यसपटक तोरी छर्न अझै एक साता कुर्नुपर्ने बताए । ठोरी गापा–३, ४ र ५ मा सबैभन्दा धेरै तोरीखेती हुने गरेको छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here