प्रस, वीरगंज, ७ कात्तिक/

पर्सामा अहिले अपराधका घटना बढेसँगै जिल्ला प्रहरी कार्यालय पर्सामा दैनिक भीड पनि बढेको छ। जिप्रका पर्साको मुुद्दा शाखा, उजूरी तथा महिला शाखामा दैनिक पीडितहरूको भीड बढ्ने गरेको छ । अपराधका घटनामा वृद्धि भएको र मानिसहरू आआफ्नो काम गराउन आउने क्रम बढेसँगै आवश्यक कर्मचारीको अभावमा कार्यरत कर्मचारीहरूलाई काम गर्न समस्या भएको छ ।

पर्सामा अहिले महिला हिंसा, लेनदेन, झैंझगडा, चोरीलगायतका घटनामा वृद्धि भएको पाइएको छ। यस अतिरिक्त आपसी इबीका कारण ठाडो उजूरी दिने कार्य पनि बढेको छ । यस प्रकारको ठाडो उजूरी दिने काम जिल्ला प्रहरीका साथै मातहतका प्रहरी कार्यालयहरूमा पनि बढ्दो छ । जसले गर्दा दैनिक कार्य प्रभावित बन्दै गएको छ । सामान्य विवादमा गाउँघर, टोलमा नै मिलाउनुको साटो प्रहरीमा उजूरी दिने कार्य बढेकाले प्रहरीलाई जघन्य अपराधका घटना अनुसन्धानमा समस्या हुने गरेको छ ।

गाउँघरमा हुने सामान्य विवादका घटनालाई मिलाउनेतर्फ स्थानीय निकायमा न्यायिक समितिको व्यवस्था भएपनि त्यहाँ जानुको साटो अधिकांश मानिस प्रहरीमा उजूरी गर्ने, मिलापत्र गर्ने गरेका छन् । प्रहरीमा उजूरी गर्दा धरपकड हुन सक्ने, चाँडो न्याय पाउने आशाका साथै कमाइ पनि हुने अवसर रहेकोले घटनाका दुवै पक्षलाई प्रहरीमा उजूरी गर्न लगाउने र उनीहरूबाट रकम असुल्ने काम थुप्रै बिचौलियाबाट हुँदै आएको छ ।

आफ्नो पालिकाबाट हुने कार्य पनि स्थानीय तहका जनप्रतिनिधि भनाउँदाहरूले प्रहरीबाट गराएर आफू तनावमुक्त हुने गरेको पाइएको छ । अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा दैनिक बिचौलियाहरूको भीड देख्न पाइन्छ । प्रहरीमा उजूरी दिन लगाउने, उनीहरूलाई मिलापत्रका लागि बाध्य पार्ने र सो गरेबापत दुवै पक्षबाट अनधिकृत रकमको आशा राख्ने बिचौलियाहरू एकाबिहानैदेखि प्रहरी कार्यालयमा धर्ना दिएर बसेका पाइन्छन् । राजनीतिक दलका नेता, कार्यकर्ताहरूको पनि अहिले प्रहरी कार्यालयमा दैनिक भीड यही कारणले बढेको एकजना प्रहरीले बताए ।

गाउँघरको विवाद प्रहरी कार्यालयमा बसेर मिलापत्र गराउने र सो गराएबापत आफ्नो पक्षबाट रकम असुल्ने, भोजभतेर गर्न लगाउनेहरूका कारण प्रहरी कार्यालयमा सरोकारविना पनि मानिसहरूको भीड बढेको हो ।

प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षक र सरोकारवाला शाखामा बिचौलियाहरू, नेता कार्यकर्ताहरूको विनाकारण दैनिक बसाइ बढ्दै गएको र उनीहरूले आफ्नो पहिचान उनीहरूसँग रहेको प्रमाणित गर्दै विवादित पक्षधरहरूलाई आफ्नो जालमा फसाउने जस्ता कार्य गर्दै आएका छन् । यस्ता गतिविधिहरूमाथि प्रहरी प्रमुख र शाखा प्रमुखहरूले नियन्त्रण गर्न नसकेकाले सोको फाइदा बिचौलियाहरूले लिने अनि अनाहकमा प्रहरी बदनाम हुने गरेको अर्का एक प्रहरीले गुनासो पोखे ।

बिचौलियाहरूमार्फत सेवाग्राहीको काम चाँडो हुने प्रवृत्ति प्रहरी कार्यालयमा फस्टाएकाले पनि मानिसहरू बिचौलियातर्फ आकर्षित भएका र आफ्नो काम सीधा गराउनुको साटो बिचौलियाको सहारा लिने गरेको पाइएको छ । यस प्रकारका गतिविधि बढेसँगै बिचौलियाहरूसँग प्रहरी संलग्नताको आरोप लाग्न शुरू भएको छ ।

जिप्रका पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले कार्यालयमा मुद्दाको चाप बढेको र मानिसहरूको भीड बढिरहेको स्वीकारे । उनले आइतवार कार्यालयमा देखिएको भीडबाट आफू पनि चकित परेको प्रतिक्रिया दिए । प्रउ पाण्डेले मुद्दाको चाप बढेसँगै वप्रका बिर्ता र श्रीपुरलाई सार्वजनिक अपराधका मुद्दा दर्ता गर्ने अधिकार दिएको बताए । मातहतका अन्य कार्यालयहरूमा मानिसहरू जम्मा भएर छलफल गर्न सक्ने वातावरण नभएकोले पनि जिल्ला प्रहरीमा मानिसहरूको भीड बढेको हुन सक्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here