प्रस, गरुडा, ७ कात्तिक/
सर्लाहीको बलरा बजारमा सामुदायिक पुस्तकालय सञ्चालनमा आएको छ । विश्व विकास सूचना दिवसको अवसर पारेर युनेस्को र समुन्नत नेपालको सहकार्यमा काका सामुदायिक सिकाइ केन्द्र बलराले आइतवारदेखि काका पुस्तकालय तथा वाचनालयलाई सञ्चालनमा ल्याएको हो ।
एक समारोहबीच बलरा–४ स्थित काका सामुदायिक सिकाइ केन्द्रको कार्यालय परिसरमा केन्द्रका संस्थापक अध्यक्ष कामेश्वरप्रसाद सिंह र बलरा नगरपालिका–४ का अध्यक्ष केशव झाले संयुक्तरूपमा पुस्तकालय सर्वसाधारणको लागि खुला भएको घोषणा गरे । केन्द्रका अध्यक्ष डा कमलेश्वरकुमार सिन्हाको अध्यक्षतामा भएको कार्यक्रममा युनेस्कोका कविता चौधरी, दीपेन्द्र ठाकुरसहितले मन्तव्य व्यक्त गर्दै पुस्तकालयले सर्वसाधारणको पहुँचमा ज्ञानविज्ञानको पुस्तक र पत्रपत्रिका उपलब्ध गराएकामा प्रशंसा गरेका थिए ।
पुस्तकालयमा दैनिक, साप्ताहिक, मासिक पत्रिकाहरू उपलब्ध हुनुका साथै भाषा, साहित्य र जीवनका विभिन्न क्षेत्रका उपयोगी पुस्तकहरू उपलब्ध रहेको डा सिन्हाले जानकारी गराए । पुस्तकालयमा नेपाल र भारतबाट प्रकाशित बज्जिका भाषाका पुस्तकहरूको पनि पर्याप्त उपलब्धता रहेको छ । नेपाली, हिन्दी, अङ्ग्रेजी भाषाका अनेक क्षेत्रका हजारौं पुस्तक रहेको र आवश्यकता अनुसार अन्य पुस्तक तथा पत्रिकाको व्यवस्थापन गरिने डा सिन्हाले जानकारी गराए ।
विद्यार्थी र लोकसेवा आयोगलगायत विभिन्न सेवा प्रवेशका लागि तयारी गर्ने नवयुवाका लागि पनि पुस्तकालयमा पुस्तक उपलब्ध रहेका छन् । धार्मिक क्षेत्र तथा सांस्कृतिक क्षेत्रका पुस्तक पनि पुस्तकालयमा उपलब्ध रहेकाले सबै वर्ग र समुदायको लागि आकर्षणको केन्द्र बन्नेमा आफू विश्वस्त रहेको डा सिन्हाको भनाइ छ ।
कर्मचारी राखेर पछिल्लो चरणमा सर्लाहीमा पुस्तकालय राखिएको यो पहिलो हो । धेरै ठाउँका सार्वजनिक पुस्तकालयमा पाठक नपुगेको अवस्थामा काका सामुदायिक सिकाइ केन्द्रको पुस्तकालय तथा वाचनालयमा पाठकको अभाव नहुने विश्वास रहेको केन्द्रका सचिव सञ्जयकुमार साहले जानकारी गराए । आगामी दिनमा अझ धेरै पुस्तक तथा पत्रिकाको व्यवस्था गरी पुस्तकालय तथा वाचनालयलाई सबैको लागि प्रशंसनीय बनाउने सचिव साहको भनाइ छ ।