अबुजा, ७ कात्तिक/सिन्ह्वा
नाइजेरियाको ओयो राज्यमा रहेको एक कारागारमा हमला गरी त्यहाँबाट ८०० भन्दा बढी कैदी भगाइएका छन् । एक अज्ञात बन्दुकधारीले नाइजेरियाको सो कारागारमा हमला गरेपछि त्यहाँबाट ती थुनुवा भागेका बताइएको छ ।
अधिकारीले दिएको जानकारी अनुसार शनिवार राति नाइजेरियाको दक्षिण–पश्चिमी राज्य ओयोमा रहेको सो कारागारमा अज्ञात बन्दुकधारीले हमला गरेका थिए । हमला गरेपछि जेल तोडेर ती बन्दी भागेका यहाँको गृह मन्त्रालयका अधिकारीले जनाएका छन् ।
ओयो राज्यको कारागार विभागका प्रवक्ता ऐलानेग्रु अन्जोरिनले सो कुराको पुष्टि गरेका छन् । उनले शनिवार राति अज्ञात बन्दुकधारीले हमला गर्दा ८३७ जना थुनुवा त्यहाँबाट भागेको बताए ।
उनीहरूमध्ये कतिपय पुर्पक्षका लागि थुनामा थिए भने कतिपय वर्षाैंसम्म जेल सजाय तोकिएका व्यक्ति थिए । जेल तोडेर भागेका उनीहरूको खोजी प्रहरीले थालेको पनि प्रवक्ता अन्जोरिनले बताए।
भागेकामध्ये २४२ जनालाई प्रहरीले विभिन्न स्थानबाट पुनः पक्राउ गरेको छ । अरू भागेका र उनीहरूको पनि खोजी जारी रहेको यहाँको कारागार सुरक्षा विभागका अधिकारीले जानकारी दिएका छन् । रासस