राधेश्याम पटेल, वीरगंज, ७ कात्तिक/
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार मातहतको एकीकृत जाँच चौकी (आइसिपी)बाट दुई थान प्रतिबन्धित कम्बाइन्ड हार्भेस्टरको जाँचपास भएको घटना सार्वजनिक भएको छ ।
भन्सार कर्मचारीको सेटिङमा आयात गर्न नमिल्ने कम्बाइन्ड हार्भेस्टरको जाँचपास भएको सूचना पाएपछि पर्सा प्रहरीले दुई थान हार्भेस्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए । उनका अनुसार भन्सार ऐनविपरीत स्ट्र कलेक्टर वा बेलरविनाको कम्बाइन्ड हार्भेस्टरको आयात गरिएको सूचना पाएपछि आफूहरूले गत बिहीवार राति १० बजे वीरगंज–२१ परवानीपुर चोकबाट नियन्त्रणमा लिएको बताए ।
उनका अनुसार वाणिज्य मन्त्रालयको २०७६ असार २ मा प्रकाशित राजपत्रको सूचनाको भाग ५ खण्ड ६९ को सङ्ख्या ११ को दफा ४ मा ‘पैठारीका लागि पूर्ण बन्देज लागेको वस्तु’को सूची रहेको छ । सूचीको बुँदा ‘च’मा ‘स्ट्र कलेक्टर वा बेलरविनाको कम्बाइन्ड हार्भेस्टर’ उल्लिखित छ ।
त्यसैको आधारमा प्रहरीले नियन्त्रणमा लिएको उनले स्पष्ट पारे । प्रहरीले शुक्रवार बिहान राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाउन पठाउँदा कार्यालयले बुझ्न नमान्दा आइतवार वीरगंज भन्सारमा पठाउँदा पनि आवश्यक कारबाही गर्न वीरगंज भन्सार तयार नभएपछि पर्सा प्रहरीले अहिले उक्त हार्भेस्टर बसपार्कमा प्रहरीको निगरानीमा राखेको छ । स्रोतका अनुसार यस्तै तीनवटा मेशिन हाल वीरगंज भन्सारको आइसिपी भन्सार यार्डमा जाँचपास गराउने आयातकर्ताको सेटिङ छ ।
स्रोतका अनुसार प्रतिमेशिन १ लाख घूस दिएर प्रतिबन्धित मेशिन जाँचपास गराइएको हो । नियमविपरीत भित्रिएको सिमरन ब्रान्डको कम्बाइन्ड हार्भेस्टर भारतको पञ्जाबको नाभा जिल्लाको मुण्डे मेकानिकल वक्र्सबाट रूपन्देहीको फैज ट्रेड लिङ्कले आयात गरेको हो ।
पञ्जाबबाट सुनौली नाका नजीक परे तापनि भैरहवा नाकाबाट गैरकानूनीरूपमा मेशिन भिœयाउन नसकेर आयातकर्ताले घूस दिएर साढे ५ सय किमी टाढाको नाका वीरगंजबाट उक्त मेशिन ल्याउने चेष्टा गरेका हुन् । २९ लाख ९० हजार पर्ने एउटा मेशिनको प्रज्ञापनपत्रमा भन्सार अधिकृत बुद्धि चूडालले र अर्को गाडीको प्रज्ञापनपत्रमा भन्सार अधिकृत धर्मराज सुवेदीले हस्ताक्षर गरेका छन् ।
यस विषयमा वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलसँग बुझ्दा उनले पुरानो भन्सार विभाग अर्थात् २०७१ कात्तिक ११ को परिपत्र अनुसार जाँचपास भएको हुन सक्ने बताए । त्यस बेला ‘स्ट्र कलेक्टर वा बेलरविनाको कम्बाइन्ड हार्भेस्टर’ भिœयाउँदा बाली काट्दा पराल वा गहुँको छवाली नजलाइ वातावरण प्रदूषण नहोस् भनेर शर्तनामा गरी आयात स्वीकृति गर्ने व्यवस्था थियो ।
त्यसैको आधारमा मेशिनको जाँचपास गरेको भन्सार स्रोतको दाबी छ । प्रमुख भन्सार अधिकृत पौडेलले भने, “साथीहरूले के हेरेर जाँचपास गरेका हुन्, जानेर गलती नभएको होला, यसबारेमा कृषि विज्ञसँग बुझेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछु ।” उनले वीरगंज भन्सारमा कर्मचारीको मिलेमतोमा अवैध मालवस्तुको जाँचपास हुने वा न्यून बिजकीकरणको सामान भित्रिने प्रश्नमा उनले त्यस्तो आरोप लगाउने खालको मात्र भएको र आधारहीन भएको प्रतिक्रिया दिए ।”
खाली हार्भेस्टरको ३० लाखदेखि ३५ लाख रुपैयाँ पर्छ । स्ट्र कलेक्टर वा बेलरसहितको ल्याइयो भने थप २५ लाख रुपैयाँ पर्छ । त्यस कारण कम मूल्यमा सामान ल्याएर बेच्ने नियतले आयातकर्ताहरू ऐन मिचेर स्ट्र कलेक्टर वा बेलरविनाको कम्बाइन्ड हार्भेस्टर मगाउने गरेका छन्।