प्रस, परवानीपुर, ६ कात्तिक/
पर्सामा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा विवाद देखिएको छ । नेकपा एमाले निकट सङ्गठनका पदाधिकारीहरूले कार्यक्रम गर्न खोज्दा नेकपा एमालेबाट छुट्टिएका नेकपा एकीकृत समाजवादीका पदाधिकारीहरूले बिथोल्न खोज्दा विवाद भएको हो ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनका कोषाध्यक्ष सुनील रौनियारले जिल्ला समन्वय समिति पर्साअगाडि रहेको नेपाल निजामती कर्मचारी सङ्गठनको आफ्नै भवनमा कर्मचारी भेला गर्न खोज्दा नेकपा एकीकृत पक्षका कर्मचारी नेता एवं नेपाल निजामती कर्मचारी सङ्गठनका पर्सा अध्यक्ष अमित गिरी समूहले आफूहरूको सहमतिबेगर कार्यक्रम गर्न लागेको भन्दै बिथोल्न खोजेका थिए । पछि एमाले निकट निजामती कर्मचारी सङ्गठनका कोषाध्यक्ष रौनियारको नेतृत्वमा रोयल पार्टी प्यालेसमा भेला सम्पन्न भएको थियो ।
नेकपा एकीकृतका कर्मचारी नेतृत्वले सङ्गठनबाट बाहिर गएर नयाँ कर्मचारी सङ्गठन विस्तार गर्नुपर्नेमा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनलाई कब्जा गर्न खोजेको आरोप लागेको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठन पर्साका अध्यक्ष अमित गिरीले नेकपा एमालेको भ्रातृ सङ्गठनको रूपमा रहेको नेपाल निजामती कर्मचारी सङ्गठनलाई आफ्नो व्यक्तिगत सङ्गठनको रूपमा लिइरहेको कोषाध्यक्ष रौनियारको आरोप छ ।
यस विषयमा नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरासँग बुझ्दा नेकपा एकीकृतमा गएका सङ्गठनका अध्यक्ष अमित गिरीले बलजफ्ती कार्यक्रम रोकेको आरोप लगाए । विगतमा नेकपा एमालेसँग आबद्ध कर्मचारीहरूले बनाएको भवनमा कार्यक्रम गर्न खोज्दा बाधा पु¥याउने कार्य आफूहरूलाई स्वीकार्य नहुने अध्यक्ष हजराले बताए ।