• मुकुन्द आचार्य

बेटी अर्थात् छोरीलाई पढाउनु अति उत्तम काम हो । यौटा पुरानो भनाइ छ– छोराले पढ्यो भने उसलाई मात्रै काम तर छोरीले पढी भने सिङ्गो परिवार शिक्षित हुन सक्छ । छोरी शिक्षित भई भने पूरा परिवार लाभान्वित हुन्छ ।

हो त नि, छोरीलाई पनि छोरासरह माया गर्नु, शिक्षित बनाउनु राम्रो हो । यसमा रौं बराबर शङ्का गर्ने ठाउँ छैन । तर… ! तर छोरीको नाउँमा ठगैती गर्नु राम्रो त हैन ।

तर यी भए आदर्शका कुरा । हाम्रो अलिकति पहिलेको समाजमा छोरीलाई जवान हुनुभन्दा पहिले नै बिहे गरेर धपाइदिने चलन थियो । जसलाई बालविवाह भनिन्छ । हाम्रो हिन्दू धर्मले त झन् उपध्रै गरिदियो । कन्या रजस्वला हुनु अगावै मातापिताले बिहे गरिदिए भने मातापिता ठूलो पुण्यका भागी हुन्छन् रे ! तर… ! फेरि ‘तर’ ले मा¥यो है ! तर मोरको दूधमा स्वाद कहाँ पाउनु र ?

भारतवर्षमा भनिन्छस विदेशी आक्रमणकर्ताहरूको कुदृष्टिबाट बचाउन कन्याको बिहे चाँडै गरिदिने चलन हिन्दूमा चल्यो । बालविवाहको थालनी त्यस बेलाको बाध्यता थियो ।  तर समयले कोल्टे फे¥यो । अब त्यो पुरानो सोच क्रमशः घट्दै छ । केटीहरू अब केटासरह हरेक काममा बराबरी गर्दैछन् । कतिपय क्षेत्रमा त केटाभन्दा केटीहरू श्रेष्ठ साबित भएका छन् । हारेका केटा, केटी भेषमा देखिन्छन् ।

हालसाल बेटीलाई पढाउने निहुँमा हाम्रो प्रदेश नम्बर २ मा ठूलो आर्थिक अपचलन भएको कुरो निकै चर्चित भा’छ । नेपालमा भ्रष्टाचार हुनु कुन ठूलो कुरा हो र ? भ्रष्टाचार गर्नलाई पनि मुटु चाहिन्छ, मुटु । लरतरो मान्छेले भ्रष्टाचार गर्नै सक्दैन । पहिले नै उसको मुटु काम्न थाल्छ । नौ नाडी गल्न थाल्छन् । मुख सुक्न थाल्छ । हाम्रो देश सर्वश्रेष्ठ भ्रष्टाचारी देश हो भनेर कुनै नामी अन्तर्राष्ट्रिय पत्रिकाले प्रत्येक वर्ष छाप्ने गर्छ । यसरी भए पनि विश्वको मानचित्रमा नेपालको पहिचान त कायम रह्यो नि ! नहुनुभन्दा कानो मामा निको, यसैलाई भनिन्छ ।

धेरै वर्ष अघि वीर गोर्खालीको देश भनेर सबैले नेपाललाई चिन्थे । पछि–पछि विश्वको एकमात्र हिन्दू राष्ट्र भनेर चिन्न थाले । अचेल हाम्रो प्यारो नेपाललाई, सुन्दर–शान्त नेपाललाई सर्वोच्च भ्रष्टाचारी देश भनेर चिन्न थालेका छन् । यो सब समयको खेल हो ।

यसमा कसैलाई दोष दिने ठाउँ नै छैन । हामी सबै नेपाली मौका पाउनासाथ भ्रष्ट भइहाल्छौं । हजारौं ‘बेटी’लाई पढाइमा सहयोग होस् भनेर लाखौं साइकल किन्दा करोडौंको भ्रष्टाचार हुनु मामूली कुरा हो । उखानै छ, मह काट्नेले हात चाट्छ ।

ठूला धनी भनाउँदा देशमा त ठूल्ठूला भ्रष्टाचार भइरहन्छन् भन्ने हाम्रो सानो गरीब देशमा करोडौंको भ्रष्टाचार हुनु, कुन ठूलो कुरो भो’त ! गरीब देशले भ्रष्टाचार गरेर भए पनि नेपाल भन्ने यौटा देश यो विश्वमा छ है भनेर प्रमाणित गरिराखेको त छ । जसरी भए पनि देशको नाउँ चर्चामा आउनुपर्छ ।

सुख्यात, प्रख्यात, विख्यात हुन नसके पनि कुख्यात हुन पनि नपाउने त ? कसैगरी पनि हामी चर्चामा त आयौं । यसमा सन्तोष मान्नुपर्छ । यौटा प्रसिद्ध उखान छ– ‘कवन अभागा के राम (दाम) ना भावे ?’ अर्थात् रुपियाँ कसलाई मन पर्दैन र ? अलिकति कमिशन खाँदैमा यत्रो हल्ला गर्ने बेकूफहरू !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here