प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका निमित्त प्रमुखलाई जनमत पार्टीका कार्यकर्ताहरूले दुव्र्यवहार गरेका छन् । लाठी, भाटासहित ठूलो सङ्ख्यामा कार्यालय पुगेका कार्यकर्ताहरूले निमित्त प्रमुखलाई कार्यकक्षबाट निकालेर अर्धनग्न बनाइ, हिलो दल्दै सडकमा हिंडाएका थिए । डा सिके राउत केन्द्रीय अध्यक्ष रहेको जनमत पार्टीले उक्त कार्यलाई ‘जनकारबाही’ भनेको छ । उक्त कार्यालयमा भ्रष्टाचार भएको, भत्काइएका स्थानहरूमा ढल निकास नगरेको, सडक भत्काएर खाल्डाखुल्डी पारेको र उचित ढल व्यवस्थापन नभएकै कारण पानी जम्नुका साथै नगरस्थित सडकका विभिन्न स्थान हिलाम्य भई सर्वसाधारणको आवागमनमा समेत कठिनाइ भएको सो पार्टीले जनाएको छ । पटक–पटक ध्यानाकर्षणका साथै सचेत गराउँदा कार्यालय प्रमुखले बेवास्ता गरेको हुँदा जनकारबाई गरिएको र उक्त कारबाईमा नगरवासीको पूर्ण समर्थन रहेको उनीहरूको जिकिर छ । घटनामा सहभागी रहेको आरोपमा प्रहरीले जनमतका केही नेता, कार्यकर्तालाई पक्राउ पनि गरेको छ । जनमतको कदमलाई समर्थन गर्ने र विरोध गर्नेहरूबीच अहिले चर्काचर्की छ ।
जनमत पार्टीले उठाएका मुद्दा जनताको मन जित्ने खालको छ । खानेपानी तथा ढल निकासको नाम जथाभावी सडक भत्काउने अनि त्यसलाई त्यत्तिकै छाडिदिने गैरजिम्मेवारपन अन्यत्र पनि छ । भर्खरै बनाएको सडक, यात्रुले राहतको श्वास लिन नपाउँदै ढल निकासको नाममा भत्काइदिन्छ । बनेको सडक भत्काउन र खाल्डाखुल्डी एवं हिलाम्य तथा धूलाम्य पार्न अधिकारप्राप्त कार्यालयका प्रमुखहरू आफ्नो सान सम्झन्छन् । त्यसबाट सर्वसाधरणले भोग्नुपरेको क्षति र पटक–पटक तोडफोड साथै मरम्मत दोहोरिंदा हुने राज्यकोषको खतितर्फ उनीहरू संवेदनशील देखिंदैनन् । सडक हिलाम्य बनाउनेमा खानेपानी तथा ढल निकासको मुख्य हात रहेको कुरा नकार्न सकिन्न । हुनत खानेपानी तथा ढल निकास स्थानीय बासिन्दाकै सेवाका लागि हो । यसलाई आवश्यकता अनुसार व्यवस्थित गर्नै पर्छ । तर जहाँ सडक भत्काइएको हो, त्यसलाई तुरुन्तै बनाउने कार्य गरिंदैन । बनेको ठाउँ भत्काएर निकास व्यवस्थित गर्नुपर्दा त्यसलाई पुनः तन्दुरुस्त गर्ने बजेट व्यवस्था गरेर मात्रै काम अगाडि बढाउनुपर्ने सरकारी नीति छ । आकस्मिक अवस्थाका लागि पनि हरेक कार्यालयहरूमा आकस्मिक कोषको व्यवस्था गरिएको हुन्छ । यदि छैन भने बजेट व्यवस्थाका लागि सरकारसँग माग गर्नुपर्ने कार्यालय प्रमुखको दायित्व हो । ढल व्यवस्था विभागको बदमाशीको कारण वर्षात्को बेला ढलमा डुबेर पछिल्लो डेढ वर्षको अवधिमा मुलुकमा १२ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।
जनमत पार्टीले उठान गरेको मुद्दा जायज हुँदाहुँदै पनि उसको शैली कानूनसम्मत भएन । स्वराजको लक्ष्यसहित भूमिगत युद्धमा होमिएका डा सिके राउत नेतृत्वको सङ्गठन जनमत पार्टी अब लोकतान्त्रिक व्यवस्था अन्तर्गत खुला राजनीतिक मूलधारमा छ । लोकतन्त्रमा कानून सर्वोपरि हुन्छ । चित्त नबुझेका कुरा तथा असन्तुष्टिहरू कानूनसम्मतरूपमा नै राख्नुपर्ने हुन्छ । हरेकले कानून हातमा लिन जोड गर्ने हो भने अराजकता निम्तन्छ र त्यसले मुलुकको शान्ति सुव्यवस्था एवं अमनचयनमाथि खलल पुग्छ । अतः ढल निकासको ढिलासुस्ती र जनमतको शैली सुधार गर्न जरुरी छ ।