नरेश यादव, पर्सागढी, ३ कात्तिक/
सोना मन्सुली धानमा फड्के कीरा लाग्न थालेपछि पर्सा जिल्लाका किसानहरू चिन्तामा छन् । अहिले धानको बाला निस्कने बेलामा कीराको प्रकोप शुरू भएपछि चिन्ता भएको छ ।
कीराको प्रकोपले धानको बिरुवा सुक्ने, धानको बिरुवा गाँजिने र बढ्न नसक्ने, धानको बाला सुकेर पराल जस्तो हुने समस्या भएको किसानहरूले बताए ।
कीराहरू हरियो, सेतो, खैरो रङ्गको हुने र फुत्त–फुत्त उफ्रने हुन्छन् । पर्सागढी नगरपालिका कृषि शाखाका प्रमुख राजकुमार क्षत्रीका अनुसार ढिलो पाक्नेभन्दा छिटो पाक्ने धानबालीमा फड्के कीराको प्रभाव कम गर्न सकिन्छ ।
उनका अनुसार गजको घनत्व कम गर्न, धान रोप्ने समयमा प्रतिगज २/३ वटाभन्दा बढी बेर्ना नरोप्न, नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्न, समय–समयमा गोडमेल गरी कीराको वैकल्पिक आश्रयस्थल नष्ट गर्नुपर्ने कृषि विज्ञको भनाइ छ ।
कृषि शाखा प्रमुख क्षत्रीले तीन/चार दिनको फरकमा पानीको सतह बढाउने र घटाउने काम गर्नुपर्छ, धान खेतमा पर्यावरणमित्र जीवको सङ्ख्या कम अथवा शून्य र शत्रुजीवको सङ्ख्या बढिरहेकोले यस्तो प्रकोप देखिएको बताए । उनले अन्तिम विकल्पमा रासायनिक मलको प्रयोग गर्नुपर्ने र सोको लागि भिनस इन्सेक्टिसाइट औषधि एक टङ्की पानीमा २० ग्राम मिसाएर छर्किनुपर्ने बताए ।