राजविराज, २ कात्तिक/रासस
सप्तरीको राजविराजमा बुधवारदेखि प्रदेशस्तरीय मिथिला कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टीमको सहभागिता रहने क्लबका अध्यक्ष रवीन्द्र यादवले जानकारी दिए ।
युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेलमैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रञ्जीतपुर राइडर्स टीम सप्तरी, छिन्नमस्ता स्पोट्र्स क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडेमी सप्तरी, रूपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरीलगायतको सहभागिता रहने जनाइएको छ ।
उद्घाटन खेलमा लहान क्रिकेट क्लब, सिराहा र फूलबारी क्रिकेट क्लब, सुनसरीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्ने क्लबका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए ।
त्यस्तै, जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिराहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट–११ रौतहट, क्रिकेट बजार–११ बारा र युनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा क्लबका सचिव राजेन्द्रकुमार मुखियाले जानकारी दिए ।
खेलमा सप्तरीबाट छ, धनुषाबाट दुर्ई, महोत्तरी, रौतहट, बारा, पर्सा, सिराहा, सुनसरी, झापा, मोरङबाट एक/एक वटा टीमको सहभागिता हुने जनाइएको छ । करीब रु १५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रूपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रूपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ ।