याङ्गोन, १ कात्तिक/एएफपी

गत फेबु्रअरीमा म्यानमाको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका पाँच हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमवार बताएका छन् ।

अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा पाँच हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् ।

यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमामा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धता अनुसार म्यानमा सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ । प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम शुरू भएको र यसबाट देशमा अराजकता छाएको छ ।

‘कू’को विरोधका प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाईको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुका साथै आठ हजारभन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।

अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनीतिक कैदीहरूको सहायतासम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् । जुलाई महीनामा देशभरका जेलहरूबाट दुई हजारभन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो । रिहा गरिएका यी व्यक्तिहरू सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरू रहेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here