नयाँ दिल्ली, १ कात्तिक/सिन्ह्वा/रासस
भारतको दक्षिणी राज्य केरलामा शुक्रवारदेखि निरन्तर भएको वर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा २६ जनाको ज्यान गएको बताइएको छ ।
बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरूमा पाँच बालबालिका पनि छन् । यस बाढीमा परेर अरू एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली अवरुद्ध भएको छ । यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको बताइएको छ ।
हराइरहेका केही व्यक्तिको शव आइतवार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरूले आइतवार साँझसम्म मृत्यु हुनेको सङ्ख्या २६ पुगेको बताएका छन् । सरकारी अधिकारीहरूले राज्यका इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको जनाएका छन् ।
कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् ।
सोमवार बिहानसम्म पनि यहाँ वर्षा जारी छ । बाढीका कारण कतिपय स्थानीय सडक अवरुद्ध भएका छन् । मौसम विज्ञान विभागका अधिकारीहरूले सोमवार पनि वर्षा कायमै रहने बताएका छन् । वर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यस कारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरूले बताएका छन् ।