राधेश्याम पटेल, वीरगंज, १ कात्तिक/
माग अनुसार बजारमा चिनी आपूर्ति नहुँदा चिनीको दाममा अचाक्ली वृद्धि भएको छ । दशैं, तिहार, छठको अवसरमा बजारमा चिनीको माग अत्यधिक रहेको तर सरकारी निकाय चिनी आपूर्तिमा खासै गम्भीर नरहेकोले बजारमा महँगी बढेको उपभोक्ताहरूको गुनासो छ ।
दशैं अघिको दाममा किलोमा ५ रुपियाँ भाउ बढेको छ । अहिले पर्सा बाराको ग्रामीण भेगमा प्रतिकिलो ९० रुपियाँमा चिनी पाइन्छ भने वीरगंजको बजारमा खुद्रा दर ८५ छ । दुई साता अघि थोकमा ७८ रुपियाँ मा पाउने चिनी अहिले प्रतिकिलो रु ८० देखि ८२ सम्ममा खरीद–बिक्री भइरहेको व्यवसायीहरूको भनाइ छ ।
पोहोर साल्ट ट्रेडिङले सरकारसँग स्वीकृति लिएर दशैं अघि २० हजार टन चिनी मगाउँदा बजारमा ७६ देखि ८० मा चिनी बिक्री वितरण भई महँगी नियन्त्रणमा सहयोग पुगेको थियो । यसपालि साल्ट ट्रेडिङले ५० हजार टन चिनी आयात गर्ने प्रस्ताव गर्दा सरकारले स्वीकृति नदिएको साल्ट ट्रेडिङ लिमिटेडका वीरगंज क्षेत्रीय प्रमुख अमोज लामिछानेले बताए ।
गत असारदेखि वीरगंजस्थित साल्ट ट्रेडिड्ढो गोदाममा एक बोरा पनि चिनी छैन । सरकारी तथ्याङ्क अनुसार देशमा अढाई लाख टन चिनी खपत हुने गरेकोमा गत आवमा करीब १ लाख ८० हजार टन चिनी स्वदेशी चिनी उद्योगबाट उत्पादन भएको र बाँकी निजी क्षेत्रले भारतबाट आयात गरी माग पूरा गरेको इन्दुशेखर चिनी मिल प्रालिका सञ्चालक राजेश केडियाले बताए ।
इन्दुशङ्करले गत वर्ष उत्पादन गरेको सबै चिनी बिक्री भइसकेको छ । गत आवमा ८० हजार टन चिनी उत्पादन भयो र बितेको साउनसम्म सबै चिनी बिक्री पनि भइसक्यो । “दुई महीनादेखि हाम्रो स्टक सकिएको छ, बजारमा चिनीको ठूलो माग छ, कैयौं चिनी उद्योगले भारतबाट चिनी आयात गरी ट्रेडिङ–बिजनेस शुरू गरेका छन्”–उनले भने–“तीनवटा चिनी उद्योग बन्द भइसके, उखु उत्पादन पनि बर्सेनि घट्दै गइरहेको छ, त्यस कारण चिनी कम उत्पादन भइरहेको छ ।”
भारतबाट चिनी आयात गरी सबैभन्दा बढी काठमाडौंको व्यवसायी, त्यसपछि वीरगंज र विराटनगर तथा भैरहवाका व्यवसायीले चिनी आयात गरी बजारको माग धान्ने गरेका छन् । वीरगंज करिडरमा बारा, श्रीपुरमा सञ्चालित रिलायन्स सुगर मिल्सका सञ्चालक राजकुमार अग्रवाल (राजु गाडिया)ले पनि चिनी आयात गरी बिक्री गरिरहेका छन् भने शाह व्यापारिक घराना र रूँगटा समूहको जगदम्बा ट्रेडिङ प्रालिले पनि चिनी आयात गरिरहेको छ ।
भारतबाट चिनी आयात गरी बिक्री गर्ने एक व्यवसायीले नेपाली आयातकर्ताले भारु २८ देखि ३२ रुपियाँमा भारतबाट चिनी खरीद गरिरहेको बताए । ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट, ढुवानी खर्च गरी भारतबाट आयात गरेको चिनी प्रतिकिलो ७६ रुपियाँ पर्छ ।
व्यवसायीले किलोमा ६ रुपियाँ थपेर, अर्थात ८२ रुपियाँमा बिक्री गर्न खोज्दा पनि बिक्री नहुने उनले गुनासो गरे । “कोरोना महामारी कम हुँदै गएपछि खुला बोेर्डरको कारण दैनिक हजारौं टन चिनी भारतबाट नेपाल आइरहेको छ”–एकजना आयातकर्ताले भने–“ब्लेकको चिनी प्रतिकिलो ८० रुपियाँमा पाइन्छ भने थोक बिक्रेताले किन ८२ रुपियाँमा किन्छ ?” यसरी हुँदैछ चिनी तस्करी चाडपर्वको बेला लत्ताकपडा, ड्राइफूड्स र चकलेट, रजनीगन्धासँगै चिनीको तस्करी बढेको देखिन्छ।
वीरगंज भन्सार मुख्य नाका भएर साइकल, अटो र पैदल पोके तस्करले चिनी तस्करी गरिरहेको भेटिन्छ । पर्साको ग्रामीण तथा छोटी भन्सार नाका भएर पनि चिनीको तस्करी भइरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । भन्सार, छोटी भन्सार र ग्रामीण नाकाबाट पर्वको बहानामा सुरक्षाकर्मीलाई खेपको २० रुपियाँदेखि ५० सम्म नजराना दिएर चिनी तस्करहरू सक्रिय भएको स्रोतको भनाइ छ ।
पर्साको वीरगंज, छपकैया, श्रीसिया, सिवानटोला, अमरपट्टि, परसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, जानकीटोला, पाँडेपुर, ठोरी नाका भएर चिनीको व्यापक तस्करी भइरहेको छ । रक्सौलमा भारु ४२ पर्ने चिनी ५० किलोको बोरा ३३ सय ६३ मा साइकलमा उठाइन्छ । ३० किलो पछाडि र २० किलो अगाडि ह्यान्डलमा झुन्डाई घर खर्चको लागि भनेर चिनी आउँछ ।
एउटा ठूलो तस्करले ६ देखि सयजना क्यारियर राखेर चिनीको तस्करी गरिरहेको बाराका एकजना चिनी तस्कर बताउँछन् । उनका अनुसार वीरगंज तथा पर्साको मुख्य बजार बाराको परवानीपुर, कलैया, परसौनी, जितपुर, सिमरा, सिम्रौनगढ, महागढीमाईलगायत बजारमा पनि तस्करीकै चिनी गइरहेको बताइन्छ ।
त्यसैगरी तस्कर गिरोहका अनुसार वीरगंजबाट दूरीको हिसाबमा जति उत्तर चिनी पुग्दै जान्छ, किलोमा चिनीको दाम बढ्दै जान्छ । कतिपय तस्कर तस्करीको चिनी ल्याएर हेटौंडा, पोखरा, चितवन र काठमाडौंसम्म विभिन्न गाडीमा पठाउने गर्छन् ।