ओमप्रकाश चौधरी, सेढवा, ३१ असोज/
वर्षाैंदेखि हराएको परम्परागत सनपाट (चेचर पटुवा) खेती अहिले पर्साको जीराभवानी गाउँपालिका–४ भवानीपुरमा शुरू गरिएको छ ।
स्थानीय किसानाथ मण्डलले आफ्नै प्रयोजनका लागि यसको खेती शुरू गरेका हुन् । उनले आफ्नो पुर्खाैली सनपाटखेती १५ वर्षपछि शुरू गरेको बताए ।
गाई, भैंसी, बाख्रा बाँध्नका लागि नाथ पगहा तथा अन्य घरेलु प्रयोजनका लागि सनपाटबाट डोरी बनाइन्छ । प्लास्टिकको डोरीले सनपाटलाई विस्थापित गरेपछि पर्सा जिल्लामा सनपाटखेती लोप भएको थियो ।
जीराभवानी गापामा गाईवस्तु पाल्ने परम्परा कम हुँदै गए पनि केहीले गाईवस्तु पाल्ने गर्छन् । घरमा प्रयोग हुने गुन्द्रीको डोरी, सिकहर, चटकीसमेत यसबाट निर्माण गरिन्छ ।
खासगरी तिहारको समयमा गाईवस्तुको डोरी परिवर्तन गरी नयाँ डोरी लगाउने चलन रहेकाले विगतमा यसबाट राम्रै आम्दानी हुने गरेको मण्डलले बताए । धेरै पहिलादेखि सनपाटको खेती गर्ने सोच राखे पनि बीउ नपाएका कारण खेती गर्न नसकिएको मण्डलले बताए ।
यसपटक भारतबाट सनपाटको बीउ ल्याएर खेती गरेको उनले बताए । यसको हाँगा कटानी गरी १०/१५ दिन पानीमा कुहाएर सनपाट उत्पादन गर्ने उनले बताए ।