प्रस, निजगढ, ३१ असोज/

चाडपर्व नजीकिंदै गर्दा र चाडपर्वका बेलामा पनि बारामा अवैधरूपमा काठ चोरी तस्करीका गिरोह सक्रिय रहेका छन् । बुधवार राति करीब २ बजे निजगढ नगरपालिकाको सिगौलबाट निजगढतर्फ आइरहेको ना.५च १६७२ नम्बरको म्याजिक भ्यानलाई शङ्का लागि वन सुरक्षा गस्ती टोलीले राजमार्गको निजगढमा चेकजाँच गर्दा करीब ५० क्यूफिटभन्दा बढी सालको चिरान काठसहित भ्यान नियन्त्रणमा लिएको छ ।

वन सुरक्षा गस्ती टोलीले रोक्ने बित्तिकै सो भ्यानका चालक साँचो लिएर फरार भएको वन कार्यालयले जनाएको छ । त्यसैगरी, करीब तीन साताअघि बाराको जीतपुरसिमरा उपमहा नगरपालिका–१६ टाँगियाबस्तीनजीकैको वन क्षेत्रबाट २५ थान सालको हरियो गोलिया तामागढी सबडिभिजन वन कार्यालय निजगढको गस्ती टोलीले बरामद गरेको हो ।

टाँगियाबस्तीको पूर्वतर्फको राष्ट्रिय वन क्षेत्रमा दुईवटा हरियो सालको रूख ढाली गोलिया लैजान ठीक्क पारिएको अवस्थामा तत्काल १० वटा गोलिया र बाँकी रहेको रूखलाई १५ वटा गिन्डा बनाएको अवस्थामा वन कार्यालयले नियन्त्रणमा लिएको थियो ।

वन क्षेत्र सुरक्षाका लागि जिल्लाका विभिन्न नाकामा सशस्त्र वन सुरक्षाकर्मीलाई तैनाथ राखिएको डिभिजन वन कार्यालय बाराका प्रमुख एवं डिएफओ मन्जुर अहमदले जानकारी दिए ।

पछिल्लोपटक ना.३स ९४७० नम्बरको अटोमा लोड सालको चिरान काठसहित निजगढ नगरपालिकाको सिगौलबाट नै अटो नियन्त्रणमा लिइएको थियो । टाँगियाबस्ती, सिगौल, ककरी, कोल्हवीलगायत आसपासका वन क्षेत्रमा काठ चोरी तस्करीका घटनाबाट एक महीनायता हालको बजार मूल्य अनुसार १२ लाखबराबरको तीन सय क्यूफिटभन्दा बढी सालको चिरान काठ, गोलिया नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here