नयाँ दिल्ली ३१ असोज/एएनआई

पछिल्लो एक दिनमा भारतमा १४ हजार १४६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । यो सङ्ख्या २२९ दिन यताको सबभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा १९ हजार ७८८ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड ३४ लाख १९ हजार ७४९ पुगेको सो मन्त्रालयले जनाएको छ । यहाँ हाल ९८.१० प्रतिशत व्यक्ति कोरोना भाइरसबाट मुक्त भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या भने १ लाख ९५ हजार ८४६ पुगेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२० दिन यताको सबभन्दा कम भएको समाचारमा जनाइएको छ । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४० लाख ६७ हजार ७१९ पुगेको छ । योसँगै भारतमा कोरोना शुरू भएयता अहिलेसम्म कुल चार लाख ५२ हजार १२४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

बेलायतमा एकै दिन ४० हजार कोरोना सङ्क्रमित
लन्डन/सिन्हवा

बेलायतमा शनिवार चौथो दिनसम्म पनि कोरोना भाइरसका ४० हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । कोरोना भाइरसको सङ्क्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ गएको २४ घण्टामा अर्थात शनिवार ४३ हजार ४२३ जनामा यो सङ्क्रमण देखिएको छ । यो समेतगरी यहाँ चौथो दिनसम्म पनि ४० हजारभन्दा बढी सङ्क्रमित पाइएका हुन् ।

पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरूले सरकारी प्रयासका बावजूद कोरोनाबाट हुने सङ्क्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरूले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८४ लाख ४४ हजार नाघेको पनि जनाएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिए अनुसार यहाँ पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १४८ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करीब सात हजारजना अझै अस्पतालमैं उपचाररत छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरूमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको भन्दै थप सतर्क रहन आग्रह गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here