प्रस, ठोरी, ३१ असोज/
ठोरी गाउँपालिकाको हुलाकी सडकखण्डमा पर्ने १०२ मिटर लामो ठुटेखोला पुलको १२ वटा स्थानमा युवाहरूले राष्ट्रिय झन्डा फहराएका छन् ।
ठोरी गापा–२ का युवाहरूले सो स्थानमा राष्ट्रिय झन्डा गाडेका हुन् । ठोरी गापा–२ का सुदीप थापाको अवधारणा र संयोजनसहित छतेन्द्र आचार्य, धर्म विष्ट, धीर सिंह, सुमन लामा, उमेश गौतम, सफल बुढाथोकी, नारायण सिलवाल, विकल आचार्य र महेश पराजुलीले पुलमा झन्डा फहराएका थिए ।
ठोरी ऐतिहासिक भूमि मात्र नभएर प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य, पर्यटन प्रवद्र्धनको आधार, सीमा विवादमा जितेको भूमि भएकोले राष्ट्र, राष्ट्रियताप्रति सकारात्मक सन्देश पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय झन्डा फहराएको संयोजक सुदीप थापाले जानकारी दिए ।
उनले भने, “हाम्रो समूहले समाजमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । ठोरी गापा–२ पीपलको चौतारामा सय मिटरको प्लास्टिक कोटेड एलइडी लाइट राखेका छौं । व्यक्तिगत र सामूहिकरूपमा गाउँका लागि केही नयाँ अवधारणा स्थापित गर्ने अभियानमा छौं ।”