प्रस, वीरगंज, २२ असोज/
वीरगंजस्थित मानवसेवा आश्रमले महानगरलाई सडकमानव मुक्त बनाउने अभियान अन्तर्गत बिहीवार रातिदेखि अभियान शुरू गरेको छ ।
मानवसेवा आश्रम वीरगंजकी संयोजक सानु मानवसेवाले नगरप्रमुख विजयकुमार सरावगीको सुझावमा सडकमानवमुक्त वीरगंज अभियान सञ्चालन गरेको बताइन् । उनले ‘सबैको लागि छाना, सबैको लागि नाना’ भन्ने आश्रमको नीति पनि रहेको र दशैंमा कसैले पनि वीरगंजमा सडकमा नै जीवन व्यतीत गर्न नपरोस् भन्ने कुरालाई विचार गरी घटस्थापनाको रातिदेखि अभियान शुरू गरेको बताइन् । उनले बिहीवार राति र शुक्रवार बिहान गरी तीनजना सडकमानवको उद्धार गरिएको बताइन् ।
अभियानमा नगरप्रमुख सरावगी स्वयम् पनि सहभागी भएका थिए । घण्टाघरबाट शुरू गरिएको यो अभियान दशैंभरि बिहान र बेलुका गरी दुई समय सञ्चालन गरिने सानुले बताइन् । उनले योसँगै आश्रममा ३१ जना महिला, २९ जना पुरुष र तीनजना बालबालिका गरी ६३ जना रहेको बताइन् ।