प्रस, वीरगंज, २२ असोज/

बाराको प्रसौनी गाउँपालिकाले सिसिटिभी जडान गरेको छ ।

शुक्रवार गापाद्वारा जडान गरिएको सिसिटिभीको गापा प्रमुख भोलाप्रसाद गुप्ताले उद्घाटन गरेका थिए । उनले आजदेखि सञ्चालनमा आएको सिसिटिभीबाट गापामा हुने चोरी, डकैती, लागूपदार्थ सेवनलगायतका सबैखाले सामाजिक, आर्थिक अपराधका घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सो सिसिटिभीबाट गण्डक, प्रसौनीबजारदेखि भलुही चोकसम्म निगरानी हुने बताए । उनले आगामी दिनमा विस्तार गर्दै कलैया उपमहानगरको सीमासँग जोड्ने बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले सिसिटिभी जडानपछि शान्ति सुरक्षामा सघाउ पुगेको बताए । उनले सिसिटिभीको सहयोगमा स्थानीय तहमा हुने अपराध नियन्त्रण गर्न प्रहरीलाई सहयोग मिल्ने बताए । सबै घटनाको प्रहरीले निगरानी राख्न नसकेको अवस्थामा सिसिटिभी जडानबाट धेरै सहयोग पुग्ने बताए ।

नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले सिसिटिभी जडानले यस क्षेत्रको शान्ति सुरक्षामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गापा उपप्रमुख गीता साहले स्वागत र निमित्त प्रशासकीय अधिकृत सुरेश साहले सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here