- वैधनाथ ठाकुर
नेपालमा कम्युनिस्ट विचारप्रतिको आकर्षण अझै पनि जनस्तरमा व्यापक रहेको छ भन्दा कुनै अन्यथा नहोला । संसारबाट कम्युनिस्टहरूप्रति जनताको समर्थन बढ्दै गइरहेको तथ्य विगतको स्थानीय तथा प्रादेशिक र सङ्घीय निर्वाचनको नतीजाले प्रस्ट देखाउँछ । फेरि यसको मतलब यो पनि होइन कि नेपालका कम्युनिस्ट पार्टीका नेताहरू सा¥है इमानदार, सदाचारी, त्यागी, जनताप्रति समर्पित, उच्च नैतिकवान् तथा उत्कृष्ट सेवाभाव भएका कारणले गर्दा जनताले मतदान गर्दा वाम राजनीतिलाई गरेको हो ।
खासगरी २०६३ साल पछाडि बनेका सरकारहरू जसको नेतृत्वमा कथित कम्युनिस्टहरू नै थिए । तिनीहरूको व्यवहारले जनमत आकर्षण भएको होइन । यो नै वास्ताविकता हो । यस्तोमा प्रश्न उठ्छ किन जनताले वामलाई अत्यधिक मतदान गरे त ?
वास्तवमा वामपन्थी वा कम्युनिस्ट जे जे नाम भने पनि उनीहरूको प्रतिस्पर्धा गर्न चुनावमा खडा भएका नेपाली काङ्ग्रेसलगायतका पार्टी वा नेतृत्वको विगतको नालायकीपूर्ण व्यवहारले गर्दा जनता क्षुब्ध भएर कम्युनिस्टहरूलाई मतदान गरेका हुन् । होइन भने भ्रष्टाचारको मामिला होस् (वाइडबडी काण्ड, ललिता निवास प्रकरण आदि) अथवा कुशासनको वा दक्षिणको दरबारको चाकडी गर्ने मामिला होस् प्रत्येक सवालमा यी कथित कम्युनिस्टहरू काङ्ग्रेसी वा पञ्चभन्दा पनि निकै अगाडि रहेको तथ्य विगत बीस वर्षको राजनीतिक व्यवहारले उजागर गरिसकेको छ ।
एक शब्दमा भन्ने हो भने नेपाली राजनीतिमा रहेका सम्पूर्ण संसदीय पार्टी चाहे ती आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउँछन्, चाहे गणतन्त्रवादी भन्न रुचाउँछन् सबका सब जनतालाई ठग्ने, राष्ट्रको ढुकुटी लुट्ने, भ्रष्टाचारलाई राज्यद्वारा नै संस्थागत गर्न लगाउने, नातावाद, कृपावाद, फरियावाद, विदेशी दलाल पूँजीवादीको दलाली गरी सत्ता जोगाउने वा सत्तामा उक्लिने जस्ता क्रियाकलाप गर्न नम्बर वन रहेका छन् ।
बाहिरबाट हेर्दा रूपमा यी विभिन्न नामधारी पार्टीहरू फरक–फरक देखिएका छन् । तर सारमा यिनीहरूको क्रियाकलाप एउटै देखिन्छ । बेलाबखतमा भारतीय विस्तारवादको विरुद्ध यिनीहरू गर्जेको सुनिए तापनि ऐन मौकामा यिनीहरू सबै रुझेको बिरालो जस्तै दिल्ली दरबारको चारैतिर म्याउँम्याउँ गरेको हालसम्म देखिंदै आएको छ । जनताको आँखा छलेर राष्ट्रिय मर्यादाविपरीत भारतीय राजदूतावासमा छिर्ने, आफ्नो छोराछोरीलाई भारतमा निश्शुल्क पढ्न पठाउने, दृश्य अदृश्यरूपले भारतबाट लाभान्वित हुने कामकुराहरूमा बढी चासो राख्ने गरेको पाइन्छ ।
पर्सा जिल्लामा शुरूशुरूमा प्रशासक भई प्रमुख जिल्ला अधिकारीको आगमन हुँदा उनको व्यवहार निकै कडा, सुशासनप्रति प्रतिबद्ध जस्तो देखिने व्यवहारहरूले गर्दा सञ्चारमाध्यमहरूदेखि लिएर जनस्तरसम्म तिनको प्रशंसा हुने गरेको धेरैपटक देखियो । तर समयक्रम बित्दै गएपछि त्यही प्रशासकको व्यवहार तस्करमैत्री, कालोबजारीमैत्री अर्थात् जसरी पनि माल कमाएर माथिकालाई खुशी तुल्याउने खालको रहँदै आएको पटकपटक जिल्लावासीले अनुभव गरेकै हुन् ।
यतिबेला दशैं भित्रिसकेको छ । बजारमा गुणस्तरहीन सामान प्रशस्त छन् । कहींकतै दरभाउमा समानता छैन । पसल–पसलमा आआफ्नो भाउ छ । एउटा पसलेले अर्को पसलको माल नक्कली बताउँछ । बेचिन लागेको वस्तुमा मूल्यसमेत उल्लेख छैन । घण्टाघरदेखि आदर्शनगरसम्म पसलेहरूले वस्तुहरूमा कोड भाषा प्रयोग गरेर स्टीकर टाँस गरेको छ । उपभोक्ताले त्यसको मतलब बुझ्न सक्दैन । उसलाई पसलेको निगाहमा बलिको बोका जस्तै छोडिएको छ । तर बजार अनुगमनको जिम्मा लिएकाहरू आफ्नो कार्यालयमा जनशक्ति अभाव भन्दै मस्तसँग आराम गरिरहेका छन् । उपभोक्ता दिनहुँ ठगिएका छन् तर यसको जिम्मेवारी लिने कोही पनि छैन ।
भारतीय सामग्रीले पसल भरेको छ । प्रत्येक दिन तस्करीको बाटोबाट बजारमा सामान भित्रिंदैछ तर मानौं प्रशासनलाई तस्करी भइरहेको थाहा नै छैन जस्तो देखिन्छ । तस्करहरू दशैंको चार महीनापूर्व देखि नै लाइन खुलेको भनी खुशी मनाइरहेका छन् । जबकि उपभोक्ताहरू सीधा मारमा परेका छन् ।
एकातर्फ म्याद गुज्रेका मालसामान खरीद गर्न उपभोक्ता बाध्य छन् भने अर्कोतर्फ भारतीय दैनिक उपभोगका वस्तुहरू अत्यधिक चर्को मूल्य तिरेर किन्नु परि रहेको छ । पसलेहरू सीधा भन्ने गर्छन् प्रिन्ट दरमा सामान पाउँदैन, दुई नम्बर बाटोबाट मगाउँदा केरियर चार्ज अतिरिक्त दिनुपर्ने भएकोले प्रिन्ट दरभन्दा पनि डेढ गुणा बढी पैसा तिरेर किन्नु बाध्यता छन् ।
यतिबेला नेपालका असली प्रजातन्त्रवादी र गणतन्त्रवादीहरूको मिलिजुली सरकार छ तर यो सरकारले अझैसम्म पूर्णता पाउन सकेको छैन । आफ्नो दुई तिहाइको सरकार खसालेर निकै ठूलो महाभारत जितेझैं गरेर प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउन पुगेका नेताहरू यतिबेला इच्छाएको मन्त्रालय नपाउँदा धोबीको गदहा घरको न घाटको जस्तै अवस्थामा पुगेको महसूस गर्दैछन् । कताकता उनीहरूलाई पनि लाग्दैछ चुनावमैं गएको भए बरु ठीक हुन्थ्यो कि ?
अरू कुराहरू जे जे भएपनि यति बेला पार्टीहरूसँग अब मुद्दा छैन । चुनावमा जनतालाई आकर्षित गर्ने योजना छैन । उनीहरू एकले अर्कोलाई पाँडे गाली गर्नुबाहेक केही पनि ठोस कुरा लिएर आगामी निर्वाचनमा जनताको बीचमा आउने अवस्था नै छैन । नेताहरूको भाषणको मुख्य विषय अहिले ‘उसले केही गर्न सकेन, उ, भ्रष्ट हो, दलाल हो, तस्कर हो, भक्षक हो आदि । ऊ अपराधीको संरक्षक हो तर म सदाचारी हुँ, त्यागी हुँ, गर्ने भनेकै मैले मात्रै हो, त्यसैले मलाई र मेरो पार्टीलाई
मतदान गर्नुहोला । अनिमात्र देश र जनताको कल्याण हुनेछ । होइन भने अब यो देश समाप्त हुन कुनै बेर लाग्नेछैन … ।’
यसरी प्याज वा बन्दा, काउलीको पातलाई जति नङ्ग्याए पनि अन्तमा पाउने के हो त ? यस्तो आवधिक निर्वाचनको गोलचक्करमा जनता फसेका छन्, यसबाट नेताहरू, नौकरशाहहरू तथा तस्कर माफियाहरू मोटाउनुबाहेक अरू केही होला भन्न ठान्नुभएछ भन्ने स्व राजा वीरेन्द्रले भन्ने गरेको पशुपतिनाथले सबैको कल्याण गरून्बाहेक अरू केही न होला ।