ओमप्रकाश चौधरी, सेढवा, २० असोज/
पर्साको ग्रामीण भेगमा जमीनमुनिको पानीको सतह बढेको छ । २०७२ सालमा आएको महाभूकम्प तथा गत वर्षदेखि परेको अत्यधिक वर्षाका कारण जमीनमुनिको पानीको सतह बढेको स्थानीयले बताएका छन् ।
ठोरी, जीराभवानी, जगरनाथपुर, पटेर्वासुगौली गाउँपालिका र पर्सागढी नगरपालिका क्षेत्रमा पानीको सतह बढेको छ । ठोरी गापा–५ ठूलो बाघमोर्चा निवासी अष्टबहादुर लोप्चनले सुवर्णपुरमा सुकेका दर्जनौं चापाकलमा पानी आउन थालेको बताए ।
ठूलो बाघमोर्चामा १२ वटा चापाकल जडान गरिएको तर पानी नआएका कारण प्रयोगविहीन थिए । तर अहिले ती सबै चापाकलबाट मजाले पानी तानेर सर्वसाधारणहरू प्रयोगमा ल्याइरहेको लोप्चनले बताए ।
यसका साथै मरुभूमि बनेको ओरिया खोलामा अहिले पानी बगिरहेको लोप्चनले बताए । यसका साथै यस क्षेत्रका सुकेका दर्जनौं खोलाको मुहानबाट सलल पानी निस्किन थालेका छन् । सुकिसकेको ठोरीका गुइटा खोला, चमरी खोला, जीराभवानी गापाको लाटेगैंडा, इमिर्ती, झगरहवालगायतका खोलामा पानी आउन थालेका छन् ।
जीराभवानी गापा–२ सेढवा निवासी अमृत चौधरीले भूमिगत सिंचाइका लागि ५५–६० फिट जमीनमुनि जडान गरिएको बोरिङबाट दमकलको प्रयोग नगरी पानी आउन थालेको बताए । गाउँघरमा जडान गरिएका अधिकांश चापाकलमा पानी आएको चौधरीले बताए ।
पटेर्वासुगौली गापाका वडाध्यक्ष विजय गैरेले महाभूकम्पपछि सुकेको गादी खोलामा पर्याप्त पानी भएको बताए । सुकेको खोलामा पानी आएर पानीको बहाव बढेको वडाध्यक्ष गैरेले बताए ।