- श्रीमन्नारायण
लामो समय आन्तरिक द्वन्द्वमा फसेको चीन, बिस्तारै कम्युनिस्ट पार्टीले सत्ता कब्जा गरेपछि स्थिर बन्दै जाँदा सन् १९५० मा तिब्बत कब्जा ग¥यो । सन् १९५० पछि तिब्बतमार्फत विभिन्न हिमाली मुलुकको सीमा क्षेत्रमा भूमि कब्जा गर्ने रणनीतिलाई पनि विस्तार गर्दै लगेको पाइन्छ । चीनले स्थानीय तिब्बती इतिहास प्रतिस्थापन गर्दै गुम्बा, बिहार बनाउँदै परिवार परम्परालाई विस्तार गर्दै सीमा क्षेत्र विस्तार तीव्रताका साथ अघि बढाउन थालेको छ ।
चिनियाँ नेता माओत्सेतुङ्गले तिब्बतमाथि कब्जा जमाइसकेपछि आफ्नो विस्तारवादी मानसिकताको परिचय दिंदै खुल्लारूपमा नै भनेका थिए कि तिब्बत त चीनको हातको हत्केला हो जबकि नेपाल, भुटान र भारतको सिक्किम, लेह–लद्दाख एवं अरूणाचल प्रदेश त्यसका पाँच औंला अर्थात् औंलाविना हत्केला कसरी पूर्ण हुन सक्छ ? नेपालसित पनि चीनको सीमा विवाद छ र समय–समयमा यो सार्वजनिक पनि हुँदै आएको छ ।
भारतको लेह–लद्दाख प्रान्तको गलवान सीमा क्षेत्रमा त गत वर्ष नै दुवै देशका सैनिकबीच झडप पनि भएको थियो । भारतको अरूणाचल प्रदेश र सिक्किममा पनि सीमा विवाद भइरहन्छ तर विगत केही वर्षदेखि सबैभन्दा बढी चीनको विस्तारवादी नीति भुटानको सीमा क्षेत्रमा देखिएको छ। एक्काइसौं शताब्दीमा अवैधरूपले कसैको भूभागमाथि दाबी गर्नु अथवा कब्जा गर्ने रणनीति बनाउनुलाई जायज मान्न सकिंदैन । चीनको भूमि अतिक्रमण नीतिबाट अहिले भुटान नै सर्वाधिक पीडित रहेको छ ।
सन् १९५० मा चीनले तिब्बत कब्जा गरेको ३० वर्षपछि सीमा क्षेत्रको अवस्थिति परिवर्तन गर्दै भुटानसँग २३२ वर्ग माइलको सीमा जोडिएको घोषणा ग¥यो । दुई सय वर्ष पुरानो उक्त प्रतिवेदन अनुसार तिब्बत गुम्बा, आहालुङ क्षेत्रमा बस्ने मानिसहरूले सीमा वारपार भेंडा तथा वस्तुभाउ चराउन लैजाने गरेका थिए । त्यस समय सीमा वारपार चौरी, भेंडा चराउने छुट दिइएको थियो तर सन् १९९५ मा ६२ वटा चौरी गाईसहित चारजना तिब्बतीलाई सीमा क्षेत्रमा स्थायी बसोबासका लागि पठाइसकेपछि सीमा क्षेत्रमा भुटानीकै प्रवेश निषेध गरिएको थियो । उनीहरूको उद्देश्य भुटानी गोठालाहरूलाई उक्त क्षेत्रमा प्रवेशमा रोक लगाउनु रहेको थियो ।
आधुनिक तिब्बती इतिहास र राजनीतिक अनुसन्धानकर्ता जो कि न्यूयोर्कको कोलम्बिया युनिभर्सिटीमा मोडर्न तिब्बत स्टडिजका संस्थापक निर्देशक पनि हुन्, उनले हालै लेखेको एउटा लेखमा भूटानमा चीनद्वारा भएको भूमि अतिक्रमणबारेमा विस्तारपूर्वक लेखिएको छ । चीनले बिस्तारै उक्त क्षेत्र कब्जा गरेको विभिन्न प्रमाणहरूले देखाएको छ । त्यसैगरी, चीनले सीमा क्षेत्र बियुलमा चारजनालाई स्थायी बसोबासको लागि पठाएको थियो । करीब २० वर्ष जति चारैजना बियुलमा बसे । शुरूमा टेन्टमा बसेका उनीहरू केही वर्षपछि त बिस्तारै भुटानी गोठालाहरूसँग कर उठाउन थालेका थिए ।
बिस्तारै त्यहाँ चिनियाँ सैनिकहरूलाई बोलाइयो र पत्थरहरूमा चीन भनेर लेखियो । सन् २००६ तिर भुटानीहरूको प्रवेशमाथि नै रोक लगाउने काम भयो । गर्मी मौसममा मात्र बियुलमा केही भुटानी सैनिक बस्ने गरेका थिए । त्यहाँ भुटानी गोठालाहरूको सुरक्षाका लागि ती भुटानी सैनिक उक्त क्षेत्रमा बस्ने गर्दथे । पछि चीनले बस्ती निर्माण गर्दै गर्दा चीनको झन्डा राखेर प्रवेशमा नै रोक लगाएपछि भुटानी सैनिक पनि त्यहाँ बस्न छोडेका थिए ।
विभिन्न चिनियाँ सञ्चारमाध्यमले बियुललाई पुरातनकालदेखि नै यो आफ्नो भूमि भएको दाबी गर्ने गरेका छन् । जबकि उक्त भूमि कहिले र कसरी कब्जा गरिएको थियो, यसको जवाफ दिन असमर्थ रहेको छ । सन् २०१५ तिर भुटानले चीनमाथि दबाब सिर्जना गर्न खोजिरहेको थियो । बियुलमा ठूला संरचनाहरू निर्माण गर्न थाल्यो । यससँगै भुटानी भूभागसम्म राजमार्ग विस्तार ग¥यो । सन् २०१८ मा बियुलको पहिलो गाउँ ग्यालफुगको निर्माण कार्य सम्पन्न भएको थियो ।
सन् २०१३ मा सत्ता सम्हालेसँगै वर्तमान चिनियाँ राष्ट्रपतिले तिब्बतसँग सीमा जोडिएका क्षेत्रहरूको अवस्था तत्काल पुष्टि पार्न चासो व्यक्त गर्नुका साथै तिब्बतका लागि नयFँ नीति बनाउन पनि आदेश दिएका थिए ।
जसको मुख्य उद्देश्य मुलुकको सुरक्षाका लागि सीमाको सुरक्षामा ध्यान दिनु थियो । आफ्नो भूभाग अथवा सीमाबारेमा गहिरो चासो हुनु स्वाभाविक हो । तर विस्तारवादी मानसिकताले ग्रसित भएर अरूको भूभागलाई पनि आफ्नो नै भएको दाबी गर्नु हस्तक्षेपकारी र विस्तारवादी नीति हो । चीनले भुटानको पश्चिमी क्षेत्रलाई आफ्नो भूभाग भएको दाबी गरेको छ भने उत्तरतर्फका तीनवटा क्षेत्र र पूर्वको एक क्षेत्रमा समेत दाबी गरेको छ ।
सन् १९९० मा चीनलाई भुटानले पश्चिमतर्फको १०४ माइलको भूभाग दिएमा चीनले पनि उत्तरतर्फको १९१ वर्ग माइलको क्षेत्र भुटानलाई दिने प्रस्ताव गरेको थियो । सन् १९८० को दशकमा भुटानले खुलाखारी क्षेत्र गुमाएको थियो । चिनियाँ प्रतिवेदन अनुसार चीनले सन् २०१५ यता उत्तरी भुटानमा आफूले दाबी गरेको क्षेत्र बियुल र मेचु उपत्यकामा तीनवटा गाउँ बसाएको छ भने सडकहरूको पनि निर्माण गरेको छ ।
सन् १९८० को चीनको नक्शा अनुसार नामागुङ्ला क्षेत्रलाई सीमा मानिएको छ । भुटानको नक्शा अनुसार अन्तर्राष्ट्रियरूपमा मानिएको सीमा नामागुङ्ला क्षेत्रबाट दुई माइल उत्तरतर्फ रहेको छ । सन् २०१५ देखि नै चीनले सीमा क्षेत्रमा गाउँ बसाउने र संरचना निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो । बस्तीमा बसोबास गर्ने स्थानीयलाई नै सीमा सुरक्षाको जिम्मेवारी दिइएको छ । स्थानीय गाउँवासीले पनि यसमा सहयोग गरिरहेका छन् ।
सन् २०११ मा नै तिब्बतको ग्यालफुग गाउँका बासिन्दाहरूको नै ‘गाउँवासी कार्यकर्ता समूह’ गठन गरिएको थियो । जसको उद्देश्य स्थानीय सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सघाउने रहेको हो। पछि तिनलाई तालीम दिलाइ आफूप्रति वफादार बनाउने काम गरियो । उनीहरूको लागि पछिल्लो समय भवन पनि बनाइएको छ र त्यसमा फर्निचरको पनि व्यवस्था गरिएको छ । यसरी चीनले बिस्तारै बस्ती बनाउने र भूमि कब्जा गर्ने रणनीति अघि बढाउँदै लगेको छ । भुटानमा जस्तै हुम्लामा पनि संरचनाहरू बनाइएको स्थानीयको दाबी छ । चीनले भारतका विभिन्न क्षेत्रमा पनि यस्तै संरचना बनाउने गरेको आरोप छ । चीनको गतिविधि शुरूमा रेशम कीराले खाएको जस्तो प्रतिविम्बित हुन्छ । जहाँ शिकारलाई यसको कुनै जानकारी नै हँुदैन तर परिणाम भनेको ह्वेल माछाले निले जस्तोे हुन्छ ।
सन् १९९० यता साउथ चाइना सी, हङ्ककङ्, ताइवान र तिब्बतमा तैनाथ गरिएको सैन्य शक्तिको छाया देखाएर पनि भुटानलाई आफ्नो प्रभावमा पार्ने प्रयास चीनले गरिरहेको छ । भुटानले उसको क्षेत्रमा रहेका रणनीतिक भूभाग डोक्लाम, चरितहाङ, सिन्चुलङ्कपा, ग्यानासाकाते र साक्तेङसहित २६९ वर्ग किमी भूभाग दिए चीनले आफ्नोे दाबी गरेको भूभाग भुटानलाई दिने प्रस्ताव गरेको छ । साथै ठूलो मात्रामा आर्थिक अनुदान दिने प्रस्तावसमेत गरेको छ । तर भुटानले यसलाई अस्वीकार गरिसकेको छ । चीनले सन् १९८० देखि ग्यालफुगमा कब्जा गुमाएको छ । पछिल्लो समय चीनले बियुल र मन्चु उपत्यकासहित अन्य भूभागमा पनि थप दाबी गरेको छ । जबकि चीनको सन् १९८० को नक्शामा समेत त्यस भूभागलाई भुटानकै रूपमा देखाइएको छ । भुटानसित चीनको कूटनीतिक सम्बन्ध पनि छैन ।
सीमावर्ती क्षेत्रका स्थानीयवासीलाई आर्थिक लाभ र भौतिक संरचनाबाट मन जितेर आफ्नो देशतिर आकर्षित गर्ने र पछि त्यस भूभागलाई आफ्नो भएको दाबी गर्ने काम चीनले गरेको छ । भौगोलिक विकटता र अत्यधिक चीसोका कारण हिमाली देशहरूले त्यस क्षेत्रमा हतपती आफ्नो सेना राख्दैनन् । जबकि चीनले भने त्यस परिस्थितिको लाभ उठाइ त्यहाँका पत्थरमा आफ्नो देशको नाम लेखिदिने, झन्डा गाडिदिने, अस्थायी भौतिक संरचना बनाउने र चिनियाँ भाषामा लेखिएको नक्शामा आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ । नेपालको हुम्ला, गोर्खा र रसुवा जिल्लामा पनि केही यस्ता घटना पाइएका छन् । ठूला देशहरूले आफ्ना छिमेकीहरूप्रति सद्भाव र सहयोगको भावना राख्नुपर्छ न कि हस्तक्षेपको ?