प्रस, वीरगंज, २० असोज/
प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीले देखाएको सक्रियता प्रशंसनीय भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले ६६औं प्रहरी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ घिमिरेले प्रहरी भएकै कारण आममानिसले अमनचयन महसूस गरिरहेको दाबी गरे । उनले प्रहरीले कर्तव्य निर्वाह गरेको कारण समाजमा अपराध न्यूनीकरण भएको बताए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले आम नेपाली जनतामा प्रहरीमाथि हालका दिनमा विश्वास बढ्दै गएको बताए । उनले प्रहरीप्रतिको नकारात्मक धारणा कम गर्दै सहयोगी भावना विकास गर्दै ‘प्रहरी मेरो साथी’ ठानेर काम गरेको खण्डमा समाजमा विद्यमान सबैखाले विकृति हटाउनमा मदत पुग्ने बताए । उनले प्रहरीलाई सहयोगी भूमिकामा राखेर काम गर्दा समाजबाट अपराध न्यूनीकरण हुने दाबी गरे ।
दिवसको अवसरमा प्रहरीसँग समन्वय गरी सामाजिक कार्यमा योगदान दिंदै आएका वडाध्यक्ष शम्भुनारायण मिश्र, लेडिज सर्कलकी सुषमा शर्मा, रश्मी दास, युवा उद्यमी मनोजकुमा। दास, ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतानलगायतका व्यक्तित्वहरूलाई प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, पूर्वअध्यक्ष अशोक बैद, प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, प्रदेश महासचिव श्याम बन्जारा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्कालगायतको सहभागिता थियो ।