प्रस, वीरगंज, २० असोज/
१.२२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत् प्रसारणलाइनको निर्माण कार्य सम्पन्न भएपछि बुधवार कार्यक्रमको आयोजना गरी भारतले नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरेको छ ।
डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत् प्रसारणलाइन (इनर्वा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार)को निर्माण सम्पन्न भएको र आज नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ ।
कलपत्रु पावर ट्रान्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई परियोजना हस्तान्तरण गरेका हुन् । समारोहमा बोल्दै नियोग उपप्रमुख खम्पाले भारत ऊर्जा क्षेत्रको सबै पक्षमा द्विपक्षीय सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् । उनले नेपालमा विद्युत् परियोजनाको विकास गर्न, नेपालभित्र र दुई देशबीच विद्युत् प्रसारणलाइन निर्माण गर्न र दुई देशबीच विद्युत् व्यापार विस्तार गर्न भारत प्रतिबद्ध रहेको बताइन् । गुणस्तरीय र समयमैं निर्माण कार्य सम्पन्न गरेकोमा कलपत्रु पावर ट्रान्समिसन लिमिटेडलाई धन्यवाद पनि दिइन् ।
१०६ किमी लामो कोशी कोरिडोर विद्युत् प्रसारणलाइनको नेरु १०.४ अर्ब लागतमा निर्माण भएको हो । भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोग अन्तर्गत यो प्रसारण लाइनको निर्माण भइरहेको छ ।
भारतको कलपत्रु पावर ट्रान्समिसन लिमिटेडले नेरु ४.५ अर्ब लागतमा परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको राजदूतावासको कार्यालयले जनाएको छ । बाँकी दुईवटा प्याकेजको निर्माण सम्पन्न भएपछि सिङ्गो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत् परियोजनाबाट उत्पादन हुने करीब दुई हजार मेगावाट बिजुलीको सहज वितरणलाई सुनिश्चित गर्ने बताइएको छ ।
कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभी क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत् प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको भारतीय राजदूतावासले जनाएको छ ।